देशकै ठूलो ईभी चार्जिङ स्टेसन भरतपुरमा बन्ने !

देशकै ठूलो ईभी चार्जिङ स्टेसन भरतपुरमा बन्ने !


नेपालमा विद्युतीय सवारी साधन प्रयोग गर्ने क्रम बढेसँगै विद्युतीय चार्जिङ स्टेसन बनाउन सुरु गरिएको छ । सरकारले मुख्य राजमार्ग र सडकहरुमा पनि चार्जिङ स्टेसन खोल्ने नीति लिएको छ ।

नेपालको मध्यभागमा रहेको भरतपुर महानगरले देशकै ठूलो विद्युतीय चार्जिङ स्टेसन भरतपुरमा बनाउने तयारी गरेको छ । मेयर रेनु दाहालको अगुवाइमा सुरु गरिएको 'उज्यालो शहर-भरतपुर' अभियान अन्तर्गत काम हुने भएको हो । 

साे अभियान अन्तर्गत भरतपुर महानगरपालिकामा थप ११८ किलोमिटर सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने भएको छ । दोस्रो चरणमा २७ करोड रुपैयाँ लागतमा ‘स्मार्ट’ सडक बत्ती जडानको लागि नेपाल विद्युत प्राधिकरणले ठेक्का आह्वान गरेको छ । विद्युत प्राधिकरण र भरतपुर महानगरपालिकाको साझेदारीमा करिब ११८ किमी सडकमा सडकबत्ती, ६० वटा मिनी मास्ट लाईट र ८ वटा हाई मास्ट लाईट जडान हुने भएको हो ।

यसअघि पहिलो चरणमा ७८ किलोमिटरमा स्ट्रिट लाइट जडानको काम भइरहेको छ । भरतपुरमा ठूला सडकहरु विस्तारका क्रममा छन् । महानगरले आगामी वर्ष मनाउन लागेको ‘भरतपुर भ्रमण वर्ष’को लागि विस्तारित सडक र स्मार्ट स्ट्रीट लाइटले सहयोग गर्ने महानगर प्रमुख रेनु दाहालको विश्वास छ ।स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती नै भएको उनले बताइन् । पहिलो चरणको स्मार्ट सडक बत्ती जडान कार्य पनि अन्तिम चरणमा पुगिसकेकाले अबको केही दिनमा पूर्ण रूपमा सडकबत्ती सञ्चालनमा आउने उनको भनाइ छ । 

पहिलो चरणमा हाकिमचोक–जगतपुर, मंगलपुर–शुक्रनगर, चौविसकोठी–मेघौली, पुलचोक–आँपटारी, बाइपास सडक, बसेनी चोक–लामा टोल र चौबीसकोठी–मालपोत चोकलगायत सडकमा स्मार्ट सडक बत्ती जडान हुँदै छन् ।

भरतपुरको मुख्य चोकहरुमा ‘हाइ मास्ट’ बत्ती जडान गरिएको छ । जसमा १६ मिटर अग्लो पोलको टुप्पोमा रिङ जडान गरेर २०० वाटका आठ वटा बत्ति जडान गरिएको हुन्छ । पारस बसपार्क, हाकिमचोक, चौविसकोठी, विरेन्द्र चोक, पुलचोक, पोखरा बसपार्क, आँपटारी चोक र मालपोत चोकमा हाइ मास्ट जडान गरिएको छ । 

विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाई सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउनको लागि 'उज्यालो सहर–भरतपुर' अभियान थप आवश्यक देखिएको स्थानीयहरुले बताएका छन् ।

Logo