पारवहन सन्धिमा अब जलमार्ग : नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउन पाउने

काठमाडौं,

नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउने विषयमा प्राविधिक रूपमा सहमति जुटेको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकन बैठकले भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने विषयमा सहमति जुटाएको हो ।

योसँगै आफ्नै जलमार्ग सञ्चालन गर्ने सरकारको योजनाले पारवहन सन्धिको मस्यौदामा औपचारिक रूपमा प्रवेश पाएको छ । सहमतिमा नेपाली टोलीको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय टोलीको नेतृत्व गर्नुभएका वाणिज्य मन्त्रालयका सहसचिव भूपिन्दर सिंह भल्लाले हस्ताक्षर गर्नुभयो ।

सहमति अनुसार नेपालले भारतको वाराणसी, कालुघाट र साहेबगञ्जबाट कोलकातासम्म आफ्नै पानीजहाज सञ्चालन गर्न सक्नेछ । पानीजहाज सञ्चालनका प्राविधिक विषयमा पनि बैठकले सहमति जुटाएको छ । स्थल र रेलमार्गबाट भारतसँग नेपालको पारवहन हुँदै आएकोमा यो सहमतिले जलमार्गबाट व्यापार गर्नसक्ने नयाँ अवसर नेपालका लागि खुला भएको छ । नेपालले विशेष महìव दिएको भारतको आन्तरिक जलमार्ग उपयोगको विषयलाई मस्यौदामा समेट्न सक्नु बैठकको विशेष उपलब्धि रहेको ढकालले बताउनुभयो ।

“नेपाल र भारतबीच पारवहनका क्रममा देखिएका समस्या समाधानसहित नेपालको जलमार्ग सञ्चालनको बाटो बैठकले प्राविधिक रूपमा तय गरेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार जलमार्गको ढुवानी प्रक्रिया र व्यवस्था, भन्सार सहजीकरण जस्ता विषय मस्यौदामा समेटिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाटै यस अघि जलमार्ग सञ्चालनका लागि भएको निर्देशन पनि यो बैठकसँगै नीतिगत रूपमा समेटिएको छ ।
गोरखापत्रबाट

पारवहन सन्धिमा अब जलमार्ग : नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउन पाउने