मावलीको थर राखेर बच्चाको जन्मदर्ता गराउने सरकारको परिपत्रमा सांसद भट्टराईको आपत्ति

मावलीको थर राखेर बच्चाको जन्मदर्ता गराउने सरकारको परिपत्रमा सांसद भट्टराईको आपत्ति


नेकपा (एमाले)की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरित मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद भट्टराईले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्विकार गर्ने गरी सबै वडाहरुमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधानसम्मत ढंगले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराएकी हुन् । 

‘संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ । परिपत्रले संविधान र कानुनले सावित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्विकार गरेको छ । संविधान र देवानी संहिता अनुसार पुन परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भनिन् । 

सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरुको जन्मदर्ता उनीहरुको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताइन् । 

Logo