अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत

अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत


प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गरेकाे राष्ट्रियसभाबाट सन्देशहसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

मन्त्री किरातीले प्रस्तावमाथि उठेका जिज्ञासाका सम्बन्धमा अभिलेख संरक्षणसम्बन्धी व्यवस्था प्रविधिमैत्री बनाउन कानुन संशोधनको आवश्यकता परेको बताए । उक्त प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरू सुमना श्रेष्ठ, हितराज पाण्डे, मेटमणि चौधरी, रामकृष्ण यादव, महेशकुमार वर्ताैला, नागिना यादव, सोविता गौतमलगायतले भाग लिएका थिए ।

उनीहरूले संसारको सबैभन्दा मूल्यमान वस्तु अभिलेख भएकाले अभिलेख व्यवस्थित र सुरक्षित तथ्याङ्क राख्ने उद्देश्य रहेको विधेयकलाई समृद्ध तुल्याउन सबै पक्ष र पाटोबाट सहयोग हुन आवश्यक बताएका थिए ।

यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट  संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेका थिए । 

प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्नेछ ।

Logo