संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने विषयमा दलहरु विभाजित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने विषयमा दलहरु विभाजित


संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसदमै छलफल गरेर पारित गर्ने की विषयगत समितिमा छलफल गरेर पारित गर्ने भन्ने विषयमा सत्तारुढ र प्रतिपक्ष दल दुई धारमा देखिएका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा विचाराधिन अवस्थामा रहेको छ । यो विधेयकलाई सत्तारुढ दलहरुले प्रतिनिधि सभामै सामान्य छलफल गरेर पारित गर्ने प्रयास गरिरहेका छन् भने प्रतिपक्ष दलहरु विषयगत समितिमा छलफल गरेर मात्रै पारित गर्नुपर्ने अडानमा रहेका छन् । 

सोमवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले विधेयकलाई फास्टट्रयाकबाट पारित गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाको १५ वर्ष बितिसक्दा पनि सो विधेयक पारित हुन नसकेको भन्दै अब पारित गर्नमा अलमल गर्नु नहुने बताए । 

उनले भने, ‘हामीले बुझे अनुसार एमाले शान्ति सम्झौताको बिरोधी होइन । यसलाई बिरोध गर्नुपर्ने कारण छैन । सकेसम्म उहाँहरुसँग सहमति जुटाउँछौँ । सहमति जुटेन भने बहुमत, अल्पमतको तरिकाबाट अगाडि बढाउँछौँ ।’
 
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले समितिमा घनिभुत छलफल गरेर मात्रै सो विधेयक पारित गर्नुपर्ने बताए । समितिमा दफावार छलफल गरेर मात्रै पीडितलाई न्याय दिलाउन सकिने उनले बताए । उनले फास्ट ट्रयाकमा पारित गर्ने कुरामा आफुहरु सहमत हुन नसक्ने बताए । 

‘समितिमा घनिभुत ढंगले दफावार छलफल गरौँ र के गर्दा पीडितलाई न्याय दिलाउन सक्छौँ, मुलुकमा शान्ति प्रक्रियालाई टुंगोमा पु-याउन सक्छौँ यसतर्फ सबै जिम्मेवार भएर अगाडी बढौँ । फास्ट ट्रयाकमा पास गर्ने कुरामा हामी सहमत हुन सक्दैनौँ ।’ उनले भने । 

नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले जति छलफल गर्नुपरे पनि संसदमै छलफल गरेर पारित गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताए । समितिमा पठाउँदा धेरै समय लाग्ने भएकाले संसदबाटै परित गर्दा राम्रो हुने उनको भनाई छ । यद्यपी सहमतिका लागि मध्यमार्गि बाटो अपनाउन सकिने उनले उल्लेख गरे । 

सबै राजनीतिक दलहरुको प्रतिनिधित्व गरेर संसदभित्रै एउटा समिति बनाएर सहमतिमा विधेयकलाई टुंग्याउनुपर्ने उनले बताए । विधेयकलाई पारित नगरी अल्झाएर राख्नु नहुने उनले बताए । 

Logo