भावी अध्यक्ष चयनका लागि उद्योग वाणिज्य महासंघमा महाभीडन्त

भावी अध्यक्ष चयनका लागि उद्योग वाणिज्य महासंघमा महाभीडन्त


नेपाल उद्योग वाणिज्य महासंघ नयाँ कार्यसमिति चयनका लागि महाभिडन्त हुँदैछ । देशभरका लाखौँ उद्योगी व्यवसायी सदस्य रहेको महासंघको भावी अध्यक्ष चयनका लागि आज विहान ८ बजेदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको हो । महासंघको साधारणसभा हिजो मंगलबारबाटै सुरु भएको हो ।

निर्वाचनबाट ३ वर्षपछिका लागि महासंघको २१ औँ अध्यक्ष चुनिने छ । यो प्रक्रियामा महासंघमा आबद्ध ३ जना व्यवसायी सहभागी छन् । लक्ष्मी समूहका निर्देशक अन्जान श्रेष्ठ, क्वेस्ट फर्मासिटिकल्सका सञ्चालक उमेशलाल श्रेष्ठ र त्रिवेणी समूहका निर्देशक रामचन्द्र संघई चुनावी मैदानमा रहेका छन् । 

पहिलोपटक त्रिपक्षीय भिडन्त
महासंघको ५७ वर्षको इतिहासमा पहिलोपटक वरिष्ठ उपाध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त भएकाे छ ।  यो पदमा यसपटक अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा रहेका छन् । श्रेष्ठद्वय र संघई प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा छन् । यसअघि दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने गरेको थियो ।

११७ जनाको उम्मेदवारी, ५ जना निर्विरोध निर्वाचित

महासंघको चुनावले ६४ जना व्यवसायीलाई कार्यसमिति सदस्य पदमा निर्वाचिन गर्ने प्रावधान छ । विभिन्न पदमा निर्वाचिन हुनका लागि ११७ जना व्यवसायीले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए । जसमा ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

चन्द्र ढकाल स्वतः अध्यक्ष

भोली ३० गतेदेखि महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् । ढकाल २०७७ सालमा काठमाडौँमै सम्पन्न भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेका थिए । 

उपाध्यक्षमा ८ जनाबीच भिडन्त

अध्यक्ष नै कार्यकारी रहने महासंघको कार्यसमितिमा एक जना वरिष्ठ उपाध्यक्षसँगै ३ जना उपाध्यक्ष हुने व्यवस्था छ । महासंघमा जिल्लानगर, वस्तुगत र एसोसिएटमा १–१ जना उपाध्यक्ष हुन्छन् ।

३ उपाध्यक्ष पदका लागि ८ जना व्यवसायी चुनावी मैदानमा छन् । जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा अरुण सुमार्गी, दिनेश श्रेष्ठ र शुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा हुँदैछ भने वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, हेमराज ढकाल र सकुन्तला हिराचन मैदानमा छन् । यस्तै एसोसिएटतर्फको उपाध्यक्ष पदमा भने २ जनाबीच भिडन्त हुँदै छ । यो पदका लागि भरत आचार्य र ज्योत्सना श्रेष्ठ चुनावी मैदानमा छन् ।

कति छन् मतदाता ?

महासंघको निर्वाचन समितिका अनुसार कूल १९ सय ९३ जना मतदाता रहेका  छन् ।

Logo