स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन तोसिमा कार्कीको माग

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन तोसिमा कार्कीको माग


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन माग गरेकी छिन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा सांसद कार्कीले सरकारी अस्पतालमा बिरामीको चाप धान्न नसकिने अवस्था रहेको बताएकी हुन् । उनले अप्रेसनको पालो कुर्दा विरामीको ज्यान गईसक्ने अवस्था रहेकाले सरकाले यस क्षेत्रमा बजेट बढाउन आवश्यक रहेको बताइन् । 

उनले भनिन्,‘यस वर्ष गत वर्ष भन्दा ४० प्रतिशत कम बजेट घटाइँदै छ रे स्वास्थ्य क्षेत्रको । सरकारी अस्पतालमा बिरामीको चाप धान्न नसकिने भएको अप्रेसन गर्न पालो कुर्दैमा ज्यान गईसक्ने अवस्था छ । मन्त्रालयसँग जम्मा १२ सय डक्टर मात्र छन् । कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रलाई छुट्याउनुपर्छ ।’

सांसद कार्कीले राष्ट्रसेवकहरूको पारिश्रमिक सुनिश्चित गर्नुपर्ने टिप्पणी गरिन् । राज्यलाई भार पर्ने गरी भएका जनप्रतिनिधिहरूको सेवा सुविधा निर्मम रूपले काट्न जरुरी रहेको उनको भनाइ छ । 

सैद्धान्तिक रूपमा निःशुल्क स्वास्थ्य सेवा ,सार्वजनिक शिक्षा सबलीकरण र कृषिको मल अनुदानका बजेट कटौती गर्न नमिल्ने सांसद कार्कीले बताइन् । 

Logo