नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान


बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ। 

‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो। उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाकाब स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताए। 

उनले भने, “नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाइन्छ । खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौँ।”

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ। अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ।

नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो। ‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगञ्जमा छ सय ९२ बालबालिकाले बीचैमा खोप लगाउन छोडेको पाइएको थियो।

“एक सय ७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो”, शाहीले भने–“घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएकाको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ।”  

Logo