बाढी तथा पहिराको पूर्वतयारी र प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास

बाढी तथा पहिराको पूर्वतयारी र प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास


जलवायुजन्य विपद् तथा मनसुनको पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची र हेलम्बुका छ स्थानमा कृत्रिम घटना अभ्यास तालिम आयोजना गरिएको छ। 

युएसएडको आर्थिक सहयोग प्राक्टिकल एक्सन र राइम्सको प्राविधिक सहयोगमा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, रेडक्रस र सुरक्षा निकायसँगको सहकार्य तथा समन्वयमा कृत्रिम घटना अभ्यास गरिएको हो।
 
बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनः ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बाढी तथा पहिरामा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, तालिम प्राप्त स्थानीयवासीलगायतको  सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको हो ।
 
घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको टोलीले प्राथमिक उपचार गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाएकोे थियो ।

अभ्यास कार्यमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, नेपाल रेडक्रस सोसाइटीका जिल्लासभापति राजेन्द्रमान ताल्चाभडेललगायत स्थानीय सबै सरोकारवाला निकायको सहभागिता थियो।

नगरप्रमुख तामाङले यस्ताखाले अभ्यासले बाढी तथा जलवायुजन्य विपद्का बखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताए।

प्रमुख तामाङले विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने बताउँदै विपद्मा काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन नगरपालिका तयार रहेको बताए।

विपद्बाट क्षति पुग्ने र विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय भएको हुनाले स्थानीय समुदायलाई विपद् जोखिम न्यूनीकरणमा जागरुक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटनाको समयमा प्रतिकार्यलाई प्रभावकारी तवरले परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार तालिमको आयोजना गरिएको सिडिइसिएफका कार्यक्रम संयोजक इच्छाराम सापकोटाले बताए।
 
समुदायस्तरमा गठित कार्यदलहरूको खोज तथा उद्धार गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने तथा भविष्यमा हुन सक्ने मानवीय, आर्थिक तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्न सामुदायिक विपद् व्यवस्थापन समिति र समितिअन्तर्गतको कार्यदललाई सङ्गठित गर्न तालिम प्रदान गरिएको थियो।

विपद व्यवस्थापनका लागि परियोजना, स्थानीय सरकार, जल तथा मौसम विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी मेलम्ची र हेलम्बु क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना गरिएको छ।

Logo