भारतविरुद्धको श्रृंखला जित्ने नेत्रहीन महिला क्रिकेट टोली पुरस्कृत

भारतविरुद्धको श्रृंखला जित्ने नेत्रहीन महिला क्रिकेट टोली पुरस्कृत


नेपाल–भारत द्विद्देशीय टी–२० नेत्रहीन महिला क्रिकेट श्रृंखलाको उपाधि जित्ने नेपाली खेलाडीहरुलाई नगद पुरस्कारबाट सम्मान गरिएको छ । 

गत बैशाख १२ देखि १७ गतेसम्म काठमाडौं र पोखरामा भएको ५ खेलको यस श्रृंखलामा भारत जस्तो बलियो देशलाई नेपालले ३–१ ले हराएर उपाधिमाथि कब्जा जमाएको थियो । नेपालको राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहन प्रदान गर्न नेत्रहीन क्रिकेट संघ नेपालले प्रतिव्यक्ति जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो । 

संघले पहिलो पटक खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको हो । 
२०६३ सालमा स्थापना भएको नेत्रहीन क्रिकेट संघ नेपाल दृष्टिविहीन व्यक्तिहरुको क्रिकेट खेललगायत अपाङ्गता खेलकुदको विकास, विस्तार एवं प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ । विश्वमा दृष्टिविहीन महिला क्रिकेट टोलीको सर्वप्रथम सुरुवात नेपालबाट गर्ने श्रेय पनि नेपाल नेत्रहीन क्रिकेट संघलाई नै जान्छ । नेत्रहीन क्रिकेटको पुरुष तर्फको विश्वकप, एसियाकपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलतापूर्वक सहभागिता जनाएको छ भने महिलातर्फ हालसम्म नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ ।

नगद पुरस्कारबाट पुरस्कृत नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरुमा कप्तान भगवती भट्टराई, उपकप्तान गीता पौडेलसहित खेलाडीहरुमा प्रतिभा राई, रिता थापा, मुना अर्याल, माया लुङ्गगेली, सुस्मा तामाङ्ग, मनकेशरी चौधरी रहेका छन् । यस्तै पुरस्कृत अन्य खेलाडीहरुमा कान्ति योगी, सरिता घिमिरे, वनिता मगर सोमाई, दिल्लीशरा धमला, विनिता पुन, निशा चौधरी र विमला राई रहेका छन् । 
 

Logo