अध्यक्ष ढकालकाे दाबी- लुम्बिनी केबलकारले संकटग्रस्त देशको अर्थतन्त्रलाई उठाउँछ

अध्यक्ष ढकालकाे दाबी- लुम्बिनी केबलकारले संकटग्रस्त देशको अर्थतन्त्रलाई उठाउँछ


लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्रलाई उठाउने दाबी गरेका छन् । 

बिहीवार बुटवल उपमहानगरपालिका ३ गोलपार्क बमघाटदेखि, पाल्पाको तिनाउँ गाउँपालिका ३ बसन्तपुरसम्म पुग्ने केवलकारको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले यस्तो दाबी गरेका हुन् । 

‘महामारीको त्रासदीकै बीचमा विक्रम सम्वत् २०७७ फागुनमा तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको लुम्बिनी केवलकारको आज उद्घाटन भएको छ । जसरी भूकम्पले थला पारेको अर्थतन्त्रलाई त्यतिबेला चन्द्रागिरि केबलकारको निर्माणले आशाको प्राण भरेको थियो, ठिक त्यसैगरी संकटग्रस्त अहिलेको अवस्थामा पनि लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको छ भन्ने मलाई लाग्दछ ।’ उनले भने । 

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका एक तिहाइभन्दा बढी मानिसको आस्थाको धरोहर रहेको बताउँदै अध्यक्ष ढकालले भने, ‘हामी भारतको बोर्डरबाट ३० मिनेट मात्रको ड्राइभमा छौँ । अर्कातर्फ लुम्बिनी क्षेत्र उत्तरी छिमेकी चीनका नागरिकको सबैभन्दा बढी इच्छाइएको गन्तव्य पनि हो । यी दुई देशको जनसंख्या झण्डै पौने तीन अर्ब पुग्न आउँछ । यो तथ्यलाई मनन् गरेर पर्यटन नीति बनायौँ भने हामी पर्यटक खोज्न धेरै तिर भौँतारिनै पर्दैन । अनि हाम्रा लागि समृद्धि धेरै टाढा पनि हुनेछैन । त्यसैले मलाई लाग्छ प्रकृतिबाट समेत सुशोभित यस पुण्यभूमिमा आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय संरचनाहरु जति धेरै बने पनि थोरै नै हुन्छ ।’

 आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर केबलकारको उद्घाटन गरेका हुन् । योसँगै लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । 

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

Logo