नाडाद्धारा शीप तथा क्षमता विकास इकाई गठन

नाडाद्धारा शीप तथा क्षमता विकास इकाई गठन


अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको शीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै जाने उद्धेश्यले शीप तथा क्षमता विकास इकाई समेत गठन गरेको छ । 

नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई गठन गरेको हाे । विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यही २०८० जेष्ठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

शुरुआती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले सो गोष्ठीमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।

विद्युतीय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । 

उक्त गोष्ठीमा महासंघ अन्तर्गत रहेको इएलएम यसका टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको सो वर्कशप गोष्ठीको लागि नाडाका उपाध्यक्ष, विद्युतिय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए । 

यस किसिमको वर्कशप गोष्ठीबाट विद्युतिय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने नाडाले अपेक्षा राखेको छ । त्यसैगरी महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दै जाने लक्ष्यसमेत लिएको बताइएको छ ।

Logo