समयानुकूल कानुन बनाउन र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री आचार्य

समयानुकूल कानुन बनाउन र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री आचार्य


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिको हकअधिकार सुनिश्चित गर्न समयानुकूल कानुन बनाउन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्गता कोष, नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डल, नेपालस्थित नर्वेजियन दूतावास, सेभ द चिल्ड्रेनको सहकार्यमा युनिसेफले आज आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी राष्ट्रिय सम्वाद’मा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिको सम्मान, संरक्षण र प्रवर्द्धन सुनिश्चित गर्न सरकारले विभिन्न कानुनी व्यवस्था गरेको जानकारी दिएका हुन् । “अन्तर्राष्ट्रिय महासन्धिलगायत कानुनी व्यवस्थालाई व्यवहारिक रुपान्तरण गर्नको लागि मन्त्रालय प्रतिबद्ध छ”, उनले भने । 

युनिसेफलगायत गैरसरकारी सङ्घसंस्थाले सरकार पुग्न नसकेको क्षेत्रमा पुगेर गरेका योगदानप्रति अभार प्रकट गर्दै मन्त्री आचार्यले आगामी दिनमा पनि मन्त्रालयसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिको सम्मान, संरक्षणको लागि व्यक्तिको सोचमा परिर्वतन गर्न जरुरी रहेको उनको भनाइ थियो । 
 
अपाङ्गतासम्बन्धी नयाँ सोचको विकास, समस्या पहिचान र कार्यान्वयनको क्रममा भएका जटिलतालाई न्यूनीकरण गर्दै आगामी दिनमा दिशानिर्देश गर्न यस्ता कार्यक्रमको महत्व रहेको मन्त्री आर्चायले बताए । 

Logo