कांग्रेसभित्र सहमति : विस्तृत कार्यतालिका र कार्यविधि बनाउन समिति

काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र झण्डै २ महिनादेखि चर्किएको कलह समाधान भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार भएको छलफलमा सहमति जुटेपछि कांग्रेसले माघ १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यसअघि संस्थापनइतर पक्षले मंसिर २६ गतेको केन्द्रीय समिति बैठक बहिस्कार गरेपछि सतहमा आएको आन्तरिक विवाद पुस ११ गतेको केन्द्रीय समिति निर्णयपछि उत्कर्षमा पुगेको थियो । मुुख्य विवादित मुद्दामा सहमति जुटेपछि संस्थापनइतर समूह समेतको सहमतिमा आगामी सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । आजको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा पूूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह सहभागी थिए ।

नेताहरूबीच २०७७ साल फागुनका लागि तय गरिएको केन्द्रीय महाधिवेशनको मिति हेरफेर नगर्ने गरी अन्य तहका अधिवेशनहरूको मिति हेरफेर गर्ने सहमति भएको उपसभापति निधिले जानकारी दिए । महाधिवेशनको कार्यतालिका र कार्यविधि बनाउन केन्द्रीय सदस्य रमेश लेखक र मिनेन्द्र रिजाल सम्मिलित समिति बनाउने सहमति भएको छ । यसैगरी, भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवादमा सहमती खोज्दै नेविसंघ महाधिवेशन आयोजक समिति गठन गर्ने सहमति बनेको छ । त्यसका लागि अध्यक्षसहित ३ जना पदाधिकारी संस्थापन पक्ष, महामन्त्रीसहित ३ जना पौडेल पक्ष र २ सिटौला पक्षलाई दिने सहमति भएको छ । तरुण दलको विवादमा भने सहमति हुन बाँकी छ । केन्द्रीय सदस्य मिनेन्द्र रिजालले आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकमा सहमतिको खाका प्रस्तुत गरिने जानकारी दिए ।

पछिल्लो समय सभापति देउवाले पार्टीभित्र सहमति जुटाउन असन्ुतष्ट पक्षका नेताहरूसँगको छलफल तीव्र बनाएका थिए । चौधौं महाधिवेशनको कार्यतालिका र कार्यविधि, विभाग गठन, क्रियाशील सदस्यता वितरण तथा भ्रातृ संगठनको नेतृत्व र महाधिवेशन लगायतका विषयमा असन्तुष्टि जनाउँदै कांग्रेसभित्रको असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार