एकैदिन भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ

एकैदिन भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ


सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणको फाइल खोलिएको छ । सत्ता गठबन्धन सरकार समस्या आइरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो ।

फाइल खोलेसँगै मंगलबार मात्रै ७ जना पक्राउ परिसकेका छन् ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएकाे हाे । 

प्रहरीले त्यस विषयमा विशेष अप्रेसन चलाइरहेको जनाएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशङ्कामा थप केही व्यक्ति पनि खोजी गरिरहेको प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।  

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । 

Logo