१५ मिनेटका लागि स्थगित भएको बैठक डेढ घण्टापछि पुनः सुरु

१५ मिनेटका लागि स्थगित भएको बैठक डेढ घण्टापछि पुनः सुरु


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । 

सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने नगर्ने निर्णयप्रति अर्थमन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै उठेर विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक डेढ घण्टापछि मात्रै सुरु भएको हो ।  निर्वाचन कार्यालयका सन्दर्भमा अर्थमन्त्री डा प्रकाशशरण महत नै उपस्थित भएर स्पष्टीकरण दिइरहेका छन् ।

त्यसअघि बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने निर्णयको विरोध भएपछि हिजो अर्थमन्त्रले स्पष्ट पारे पनि त्यो विनियोजन विधेयक, २०८० मा उल्लेख नभएको भन्दै विरोध गर्नुपरेको बताएका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई बोल्न समय दिए । सांसद लेखकले निर्वाचन कार्यालयका सन्दर्भमा अर्थमन्त्रीले मङ्गलबार नै स्पष्ट जवाफ दिइसकेकाले प्राविधिक विषय देखाएर सदन अवरोध नगर्न आग्रह गरे । 

निर्वाचनको मर्यादा, स्वच्छता र स्वतन्त्रताका पक्षमा सबै राजनीतिक दल एकै ठाँउमा रहेको, सरकारले समेत यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरिसकेको अवस्थामा सदनलाई अवरोध गर्नुको कुनै अर्थ नभएको उनले भनाई राखे । 

सांसद लेखकले एउटा पक्ष निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत राख्ने जस्तो, अर्को पक्ष विद्यमान अवस्थामा नै राख्नुपर्छ भन्ने जस्तो देखाएर सदनमा अवरोध गर्नुको कुनै अर्थ नभएको उल्लेख गरे । 

Logo