नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै

नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै


नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन विक’ का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । 

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडीजी गोल्स पेन्टिङ अनावरण गरी ‘नबिल ग्रीन विक’ अभियानको उद्घाटन गरेका थिए । बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । 

यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।

नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरिरहेको बताए । उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए ।

अध्यक्ष पौड्यालले  बैंक  रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए । ‘हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ,’ उनले भने ।

नबिल सस्टेनेबल बैंकिङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैंकले जनाएको छ । 

नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए । यो ग्रीन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाई छ ।  

सिइओ ढुंगानाले नबिलले गर्दै आएको रेनवाटर हार्वेस्टिङ, पेपरलेस बैंकिङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रित, नबिल सामाजिक उद्यमशीलता कार्यक्रमद्वारा दिगो विकासका कार्यक्रमलाई केन्द्रित गरेको बताए । नबिल सस्टेनेबल बैंकिङ भर्टिकलले दिगो अभ्यासलाई प्रवर्द्धन गर्ने, आर्थिक वृद्धिमा टेवा पर्‍याउने र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने पहलहरूमा निरन्तरता दिने उनको भनाइ थियो ।

Logo