नेपाल खुला स्टुडियो हो, फिल्म छायाङ्कन र निर्माणको हब बनाऔँः मन्त्री शर्मा

नेपाल खुला स्टुडियो हो, फिल्म छायाङ्कन र निर्माणको हब बनाऔँः मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई फिल्म छायाङ्कन र निर्माणको हबको रूपमा विकास गरेर लैजानुपर्ने बताएकी छन् । काठमाडौँमा आयोजित चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाललाई फिल्म छायाङ्कनको नवीनतम गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताइन् ।

नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले यो सम्भव रहेको चर्चा गर्दै उनले भनिन्, ‘चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौँ। यसलाई अनुपम हबका रूपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’

विद्यमान चलचित्र ऐन परिमार्जन गरेर यस क्षेत्रका समस्याको समाधान गर्न सरकार लागिपरेको उनले बताइन्। स्वदेशी फिल्मको नीतिगत आधार तयार गरिने भन्दै मन्त्री शर्माले चलचित्र क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

उनले भनिन्, ‘सरकारले लिने नीतिबाटै नेपाली चलचित्र संरक्षण हुनुपर्छ। दोस्रो कुरा- प्रतिस्पर्धा नै हो। हामीले स्वदेशी चलचित्रको गुणस्तर सुधारेर यसलाई हेर्ने बनाउनैपर्छ । त्यसो गर्दा विषयवस्तु, प्रस्तुति र देशको आवश्यकताका दृष्टिले चलचित्र क्षेत्र अघि बढ्न सक्छ।’

गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता महत्त्वपूर्ण कुरा स्थापित भएर कार्यान्वयनको चरणमा रहेको भन्दै मन्त्री शर्माले नीतिगत र कानुनी समस्या रहेको बताइन्। ‘यसबारे संवैधानिक र कानुनी व्यवस्था हामीले गरेका छौँ । जनमानसमा जानकारी पुर्‍याउने प्रभावकारी माध्यम चलचित्र पनि हो,’ उनले भनिन्।

समाज रूपान्तरणको सन्दर्भमा भएका घटनालाई प्रवर्द्धन र उठान गर्ने मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताइन्। चलचित्र क्षेत्रका समस्या समाधान गर्नका लागि सबै पक्षबीच संवाद हुनुपर्ने खाँचो उनले औँल्याइन्। समस्याको पहिचान गरेर समाधानको प्रतिबद्धता उनले गरिन्। नयाँपुस्तालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु जरुरी रहेको उनले बताइन्।

Logo