युएईविरुद्ध नेपालकाे कमजोर सुरुवात, चलेन ज्ञानेन्द्रकाे ब्याटिङ

युएईविरुद्ध नेपालकाे कमजोर सुरुवात, चलेन ज्ञानेन्द्रकाे ब्याटिङ


नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध कमजोर सुरुवात गरेको छ । 

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा युएईले दिएको १८२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरको खेल सकिँदा २ विकेट गुमाउँदै ३० रन बनाएको हो । 

दोस्रो ओभरको पहिलो बलमै ओपनर अर्जुृन साउनलाई नेपालले गुमाएको थियो । आशिफ शेखको स्थानमा आएका अर्जुृन एक रनमै मोहम्मद जवदुल्लाहको बलमा आउट हुन पुगे । साथै लामोसमय पछि टोलीमा फर्किएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सस्तैमा समेटिए । ८औं ओभरको अन्तिम बलमा जुनैद सिद्धिक्वीले उनलाई १३ रनमा पवेलियन फर्काए । विश्वकप लिग २ मा मार्चमा पपुवा न्युगिनीविरुद्ध खेलेपछि उनी पहिलोपटक टोलीमा फर्किएका थिए । 

हाल क्रिजमा ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल छन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् । मोहम्मद वासिम नहुँदा उनलाई कप्तानको जिम्मेवारी दिइएको हो । 

त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए ।  

बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २३ रन खर्चिँदै ३ मेडनसहित ३ विकेट लिए । विश्वकप छनोटको समूहचरणमा उनको बलिङ नचल्दा नेपाली टोलीले ठूलो घाटा व्यहोर्नुपरेको थियो । साथै करण केसीले पनि समान ३ विकेट लिए भने दिपेन्द्रसींह ऐरी, गुल्सान झा र प्रतिश जिसीले समान एकएक विकेट लिए । 

Logo