काभ्रेमा १ सय ७५ विद्यालयको पुनर्निर्माण सम्पन्न

काभ्रे ।

जिल्लामा भूकम्पले भत्काएका १ सय ७५ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत अनुगमन तथा संचालन भएका २ सय २२ विद्यालय मध्ये १ सय ७५ वटा विद्यालय निर्माण सम्पन्न भएका हुन् ।

२०७७ भित्र सबै विद्यालय पुनर्निर्माण गरिसक्ने लक्ष्य अनुसार विद्यालय पुनर्निर्माणको कार्य तिब्र बनाईएको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख द्वारिकाप्रसाद पोखरेलले बताए । आर्थिक वर्ष २०७५,०७६ मा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट प्राप्त कार्यक्रम अन्तर्गत ४ कोठे २० वटा, ३ कोठे ३ वटा, २ कोठे १० वटा र शौचालय ७० वटा निर्माण भएका छन्।

केन्द्रिय आयोजना मार्फत हालसम्म ८ कोठे १२ वटा, ६ कोठे १० वटा, ४ कोठे ७४ वटा, ३ कोठे ५४ वटा र २ कोठे ७६ वटा निर्माण भएका छन्।

जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत हालसम्म १ सय ७५ वटा विद्यालयमा ५ सय ९१ वटा कक्षा निर्माण सम्पन्न भएको इन्जिनियर सोभित श्रेष्ठले बताए । निर्माण सम्पन्न हुन ४७ वटा विद्यालयका १ सय ६७ वटा कक्षा कोठा रहेका छन्।

विद्यालय निर्माणका लागि जिल्लामा १ अर्ब ११ करोड १७ लाख ९४ हजार रुपैयाँ इस्टमेट गरिएकोमा ९४ करोड ७ लाख ६८ हजार रुपैयाँ खर्च भईसकेको छ। विभिन्न परियोजना अन्तर्गत २८ वटा निर्माण सम्पन्न भईसकेका छन् भने ३० वटा विद्यालय निर्माणाधिन छन् ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु