#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व65752130428485674141419
नेपाल5041

अमेरिकी सडकमा मगन्तेको ‘सरी’ …!

  • जयदेव गौतम-

‘ली हाइवे’ भनिने बाटोको लामो दूरी तय गरिसकेर हामी आर्लिङ्गटनस्थित त्यो ठुलो किनमेल केन्द्र (मल) अगाडि आइपुगेका थियौँ । मलको पार्किङ लट भरिभराउ देखिन्थ्यो । दुई–तीन चक्कर लगाएपछि बल्लतल्ल हामीले कार पार्किङ गर्ने ठाउँ फेला पारेका थियौँ । ड्राइभिङ सिटमा बसेका श्याम बजिमयले पार्किङ गरिसकेपछि कारमा रहेका हामी पाँचैजना ओर्लेर मलतिर लागेका थियौँ । मलभित्र जाने र मलबाट निस्कनेहरूको लश्कर थियो, ठीक त्यस्तै जस्तो हामीले त्यहाँसम्म आइपुग्दा बाटोभरि गाडीहरूको ताँती हेर्दै आएका थियौँ ।

ली हाइवे होस् वा अन्य जुनकुनै दुईतर्फी बाटो (ठुला राजमार्गहरूलाई यहाँ ‘फ्री वे’ भनिन्छ), अमेरिकामा आउँदै–जाँदै गरेका गाडीहरूको ताँती हेर्न पनि बेग्लै आनन्द आउँछ– खासगरी बढी भिड अथवा सडक जाम भएर गाडीहरू अति विस्तारै गुडिरहेको बेला । त्यसमा पनि दिउँसोको उज्यालोमा होइन, जब सन्ध्या विस्तारै पयर उचाली धर्तीमा ओर्लिन्छिन् र बसुन्धराले घना अन्धकारको बाक्लो पछ्यौरी ओढ्छिन, त्यसबेला यो दृश्यपान गर्नुको कुरै अर्को हुन्छ । तपार्इंं जता जाँदै हुनुहुन्छ, तपाईंका अगाडि देखिने गाडीका लश्करमा सबैका पछाडितिरको बत्ती –ब्याकलाइट– रातो बत्ती बलिरहेको हुन्छ । बे्रक लगाउँदा ती बत्ती अझ चहकिला देखिन्छन् । घरिघरि यस्तो लाग्छ, मानौं सयौं जूनकिरी रातो उज्यालो छर्दै यो राजमार्गबाट आफ्नै पाराको मन्द गतिमा यात्रा गरिरहेछन्, मानौं कुनै महत्वपूर्ण पूजाआजा अथवा यज्ञ–यज्ञादिको पूर्वाङ्गका लागि सयौं मानिस हात–हातमा बत्ती लिएर र्‍यालीमा सहभागी भइरहेका छन्, पर्यावरणको प्रतिच्छायाले ती बत्तीहरू रातो रंगमा परिणत भएजस्ता देखिएका छन् ।

घाम उहिल्यै अस्ताचलमा गइसकेका थिए, गर्मी हुने कुरै भएन । पानी पर्ने टाढाटाढासम्म कुनै छेकछन्द थिएन । धुलो अथवा धुवाँको कतै नामनिशान थिएन ।

अर्कोतिर सामुन्नेबाट आइरहेका गाडीहरूको लश्कर अगाडिको हेडलाइटका रूपमा सेतो बत्ती बालेर गुडिरहेका छन् । लामो लश्करमा आइरहेका गाडीले दुई–दुईवटा सेता बत्ती बालेर गुडिरहेको दृश्य आफैँमा चित्ताकर्षक देखिइरहेको थियो । सडकमा जामै नभए पनि एकातिर राता बत्तीहरूको त अर्कोतिर सेता बत्तीहरूको लामो लश्कर बनेको हुन्छ– सेता बत्तीहरूको जुलुस जस्तो प्रतीत हुन्थ्यो किनभने अँध्यारोमा हत्पति गाडी दृष्टिगोचर हुँदैन्थ्यो । दुवै रंगका बत्तीहरू पंक्तिबद्ध भएर अनुशासित ढङ्गले ओहोर–दोहोर गरिरहेको भान हुन्छ । सयौंको सङ्ख्यामा सडकमा गाडी कुदिरहेको भए पनि त्यहाँ एकदमै शान्ति छ, हर्न बजेको सुनिँदैन (ट्राफिक प्रहरी पनि कर्ही कतै देखिँदैन) । यहाँ अनावश्यक हर्न बजाउन अथवा हर्न बजाएर अरूलाई व्यवधान पुर्‍याउन कानुनतः निषेध छ । अत्यावश्यक पर्दा बाहेक हर्न बजाउन पाइँदैन (त्यसो त, कानै खाने गरी हर्न बजाउने सारा ठेक्का मानौं प्रहरी वाहन, एम्बुलेन्स र दमकलले पाएका छन्) । पाइलैपिच्छे राखिएका सिसी टिभी र क्यामराले ट्राफिक प्रहरीको काम गरिरहेका हुन्छन् । जानेर वा नजानेर कुनै ट्राफिक नियम मिचेमा एकाध दिनमै आवश्यक जरिवानासहितको सूचनापत्र घरमै आइपुग्छ !

नेपालमा हामी गाडी बायाँ साइडबाट चलाउँछौँ । ओभरटेक गर्नुपर्दा दायाँबाट गर्छौँ । अमेरिकामा त्यसको उल्टो छ, अर्थात्, गाडी दायाँ साइडबाट चलाउने र ओभरटेक गर्नुपर्दा बायाँतर्फबाट गर्ने चलन छ । धेरै लेन भएका सडकमा बिस्तारै चलाउने गाडी सबैभन्दा दायाँ, त्यसभन्दा बढी गतिमा चल्ने चाहिँ त्योभन्दा बायाँ र सबैभन्दा बढी गतिमा चल्ने चाहिँ सबैभन्दा बायाँ लेनबाट चलाउने नियम छ (अझ बढी गतिमा चलाउनुपर्ने भएमा हाई ओक्युपेन्सी भेइकल –एचओभी– लेनबाट पनि चलाउन सकिन्छ तर यो लेनबाट चलाउन गाडीमा दुई वा दुईभन्दा बढी यात्रु हुनु अनिवार्य हुन्छ) । मैले अमेरिका आएर यतै बसोबास गरिरहेका र अमेरिका आएर केही समय बसेर पुनः नेपाल फिरेका कतिपय मानिसहरूलाई सोधेको थिएँ,‘तपाईंलाई विमानस्थलबाट बाहिरिएपछि अमेरिकामा सबैभन्दा आकर्षक के लाग्यो ? के कुराले सबैभन्दा बढी तान्यो ?’

जवाफमा घुमाइफिराई सबैको जवाफ सारमा एउटै थियो, ‘मलाई त सबैभन्दा बढी यहाँको सडकले पो तान्यो । सफा, चिल्ला र फराकिला सडक । ट्राफिक प्रहरी कतै देखिँदैन तापनि गाडीहरू कतै पातलो गरी त कतै बाटै जाम हुने गरी बाक्लिएर गुडिरहेका देखिन्छन् !’ यसै क्रममा अर्का केहीको भनाइ थियो, ‘मैले त त्यहाँ छाडेर नेपाल आएपछि अमेरिकामा आफूले गरेको ड्राइभिङ पो सबैभन्दा बढी मिस गरिरहेको छु । त्यहाँका सडकको त के कुरा गर्नु !’
हो, हामी यही र यस्तै सडक –जो त्यतिबेला घरिघरि निकै जाम हुन्थ्यो– हुँदै आर्लिङ्गटनको त्यो मलसम्म आइपुगेका थियौँ । यो अमेरिकी राज्य भर्जिनियाको कुरा थियो ।

हामी गाडीबाट ओर्लेर अलि पर मात्र के पुगेका थियौँ, एकजना महिला हाम्रा अगिल्तिर आएर ठिङ्ग उभिई । प्यान्ट, टी–सर्ट, ज्याकेट र टाउकोमा सामान्य स्कार्फ लगाएकी त्यो महिला गोरो वर्णकी थिई । आँखा जुझ्ने बित्तिकै (पार्किङस्थलमा पोलल्याम्पको उज्यालो थियो) उसले आफ्नो दाहिने हात अगाडि तेस्र्याई र भनी, ‘प्लिज गिभ मी वान डलर !’ अमेरिकामा केही वर्ष बिताइसकेका श्याम र अन्य साथी केही नबोली अगाडि बढ्ने तरखरमा थिए । मैले चाहिँ उसलाई जवाफ दिएँ, ‘वी डन्ट ह्याभ वान डलर ।’

त्यो मगन्ते महिलाले निमेषभरका लागि हामीतिर हेरी र लगत्तै भनी, ‘ओह, यू डन्ट ह्याभ वान डलर ! आई एम सो सरी ।’ यति भनेर ऊ त्यहाँबाट अन्यत्रतिरै हिँडी पनि हाली ।

म एकछिन त ट्वाँ परेर त्यहीँ उभिइरहेँ किनभने पैसा माग्दा छैन भनेपछि कुनै मगन्तेको मुखबाट ‘सरी’ भन्ने शब्द जिन्दगीमा पहिलोपल्ट जो सुनेको थिएँ ।

त्यसो त मैले भर्जिनिया, वासिङ्गटन डिसी, मेरिल्यान्ड र न्युयोर्क घुम्दा पनि ठाउँठाउँमा मगन्तेहरू देखेको थिएँ । अन्य ठाउँबाहेक भर्जिनियामा मेट्रो रेलबाट बोल्सटन क्षेत्र जान अन्डरग्राउन्ड भर्‍याङ चढ्दै माथि निस्कँदा मगन्तेहरूले बासस्थान जस्तै बनाएर बसेको देख्न सकिन्छ । त्यस्तै, वासिङ्गटन डिसीका विभिन्न मेट्रो रेल स्टेसनहरूबाट अन्डरग्राउन्ड भ¥याङहरूबाट माथि निस्कँदा पनि ठाउँठाउँमा मगन्तेहरू अथवा सुकुम्बासीहरू देख्न सकिन्छ ।

अमेरिकामा मगन्तेहरूले माग्ने तरिका पनि नेपाल वा भारततिरको भन्दा फरक किसिमको छ । यहाँ धेरैजसो माग्ने तरिका भनेको केही लेखेको प्लेकार्ड बोकेर अथवा सेतो ए–फोर कागजमा लेखेर दुई हातले समातेर उभिने अथवा छातीमा टाँसेर उभिएर माग्ने गरेको देखिन्छ । उनीहरूको कागजमा प्रायः लेखिने शब्द यस्ता हुन्छन् :

होमलेस ।
पुअर ।
हङ्ग्री ।
नथिङ टू इट । प्लिज हेल्प ।
हेल्प मी । गड विल हेल्प यू ।
………..
बाटो हिँड्ने यात्रुहरूले कसैले उनीहरूलाई केही पैसा दिन्छन्, कसैले खाने कुरा । मैले भर्जिनियाको ओल्ड टाउन क्षेत्र र अलेक्जान्ड्रियामा के देखेँ भने कतिपय अश्वेत मगन्तेहरू त्यसरी पैसा पाएपछि कुनै पसलमा जान्छन् र सस्तो तर कडा खालको लार्ज क्यान बियर र सिगरेट किनेर त्यही पसलको पछाडितर्फ गएर पिउन थाल्छन् अथवा अन्यत्र कुनै एकान्त ठाउँ खोज्न थाल्छन् । अमेरिकामा खुला वा सार्वजनिक ठाउँमा बसेर मदिरा सेवन गर्न पाइँदैन ।

मैले डिसी क्षेत्रमा घुम्दा अर्को कुरा पनि विचार गरेँ । त्यस क्षेत्रमा मगन्तेहरूले युवा अथवा अधबैंशे उमेरका ठेट अमेरिकनहरूसित भने माग्दा रहेनछन् किनभने उनीहरूले ‘भिक्षा दिन’ ठाडै नकारी दिँदा रहेछन् । त्यसरी माग्नेहरूलाई झण्डै घृणाको नजरले हेर्दा रहेछन् । बरु ती मगन्तेहरू ठेट अमेरिकन नै भए पनि बृद्ध–बृद्धा अमेरिकन, एसियाली मूलका मानिस अथवा हिस्प्यानिकहरू सामु आफ्ना मगन्ते हात फैलाउँदा रहेछन्् ।

वास्तवमा त्यस मगन्ते महिलालाई मैले एक डलर दिने थिएँ हुँला तर मलाई राम्ररी के थाहा थियो भने मेरो वालेटमा दश, बीस र पचासका नोट मात्र थिए । गोरो वर्णकी भए पनि त्यो महिला मलाई अमेरिकन जस्ती लागेकी थिइन । केही साता पहिले त्यसै गरी एकजना गोरो वर्णकी महिला मेरा सामु आइपुगेकी थिई । उसलाई एक डलर दिएर ऊ कुन देशकी मूल बासिन्दा हो भनेर सोधेको थिएँ । उसले सायद मलाई एसियाली भनेर ठम्याई हाली र आफू स्लोभेनियाको मूल बासिन्दा भएको बताई । मैले थप सोध्दा उसले भनी, ‘सोभियत संघको पतन भएपछि स्वतन्त्र भएका पूर्वी युरोपेली मुलुकहरूबाट सयौँ हजारौँको संख्यामा महिलाहरू अमेरिका छिरेका छन् । तीमध्ये थोरैले मात्र राम्रो काम पाएका छन्, धेरैजना त यताउता छरिएर देहव्यापारमा लागेका छन् भने दर्जनौं म जस्तै मागेर जीवन गुजारा गरिराखेका छन ।’

उसले बडो गहिरो कुरा बताएकी थिई । एउटी मगन्ते महिलाले त्यसरी सामाजिक विषमताको, अभावमा बितिरहेको जीवन सम्पन्नताको खोजीमा आइसकेपछिको स्थितिमा त्यसले सामना गर्नुपर्ने जटिलताको अवस्थाबारे जे जसरी बताएकी थिई, त्यो आश्चर्यजनक थियो । पछि उसले भनेकी थिई, ‘म केही समय यहाँ यसरी नै मागेर पैसा जम्मै गर्दैछु । त्यसपछि म यो मुलुकमा बस्दिन । स्वदेश नै फर्किन्छु । अरू धेरै पूर्वी युरोपेली महिलाहरू जस्तै ।’ उसले आफ्नो बारेमा केही पनि बताउन चाहिन । मैले पनि हलेदो कोट्याउन रुचि देखाइन । बरु मसँग भएका एक–एक डलरका अरू चारवटा नोट पनि निकालेर उसलाई थपी दिएँ । ऊ ‘थ्याङ्क्यू सो मच’ भन्दै अर्को सिकारको खोजीमा एकातिर लागेकी थिई । उसले मसित कति सही र कति बेसही बोलेकी थिई भन्ने कुराको मापदण्ड मसँग केही पनि थिएन ।

ओझेल नहुँदासम्म मैले उसलाई हेरिरहेको थिएँ ।

अमेरिकामा मगन्तेहरूको सन्दर्भ निस्कँदा मलाई मेरिल्यान्ड राज्यको बाल्टीमोर नेसनल हार्बरको सम्झना पनि आउँछ । बाल्टीमोर हार्बरलाई ऐतिहासिक, दर्शनीय र उपल्लोस्तरको पर्यटकीय स्थल मानिन्छ । यही ठाउँमा संसारकै विशालतम मध्ये एक मानिने अक्वारियम छ (सुने अनुसार त्यो अक्वारियममा आठसय प्रजातिका दश हजार जलचर छन्) । हार्बर पुगेको बेला हाम्रो लक्ष्य घण्टौं लगाएर घुम्नुपर्ने त्यही अक्वारियम हेर्ने थियो । हामी अक्वारियम पुग्नुभन्दा पहिले हार्बरमा बोर्डवाक जस्तो बनाइएको किनारमा घुम्दै थियौं । त्यहाँ हामीले देख्यौं– तीनजना मानिसको समूह छ, उनीहरूले दुईवटा गिटार लिएका छन् र बजाइरहेका छन्, तेस्रोले चक लिएर निश्चित घेराबन्दी जस्तो गरेर कोर्दै छ । मानिसहरू आइरहेछन्, गइरहेछन् । कोही एकछिन उभिएर उनीहरूलाई हेर्छन् र पाँच वा धेरै डलरको नोट त्यही चकको घेराभित्र राखिदिन्छन् र त्यहाँबाट हिँडछन् ।

चकको घेराभन्दा बाहिर त्यसकै छेउमा एउटा फुलस्केप कागजमा ‘होमलेस, प्लिज हेल्प’ लेखेर त्यो कागज आफ्नो अगाडि राखेर एकजना अधबैंशे बसेको थियो । गिटारवालाहरूभन्दा पनि चक समातेको मानिसले घरिघरि ऊतिर हेर्ने गथ्र्यो र आँखा ठुलाठुला पार्ने गथ्र्यो । मलाई लाग्यो, ठाउँको विषयलाई लिएर सायद उनीहरूबीच बेलाबेलामा विवाद हुँदो हो ।

एकै छिनपछि त्यहाँ अर्को दृश्य पनि देखियो– एकजना किशोर दस–पन्ध्र फिट अग्लो काठको जुत्ता लगाएर बोर्डवाक किनारमा हिँडिरहेको छ । यता र उता ओहोरदोहोर गरिरहेको छ । जमिनमा उसको ‘प्रतिनिधि’ पनि हिँडिरहेको छ । मानिसहरू उसलाई हेर्छन्, कसैकसैले केही रकम झिक्छन् र उसलाई देखाउँछन् । उसले आफ्नो प्रतिनिधितर्फ इशारा गर्छ । त्यो र त्यस्तो रकम त्यही प्रतिनिधिले जम्मा गरिरहेको हुन्छ । उसले माग्नका लागि त्यो चटक गरिरहेको थियो वा चटक गरेर मागिरहेको थियो, अथवा अरू नै कुनै बाध्यता थियो, मैले ठम्याउन सकिरहेको थिइन ।

कतै पढेको, सायद वासिङ्गटन पोस्ट दैनिकमा हुनुपर्छ, सम्झन्छु– अमेरिकामा मगन्तेहरू साधारणदेखि पूर्ण व्यवसायिक स्तरसम्मका हुन्छन् । उनीहरू मागेरै पन्ध्रदेखि तीस हजार डलरसम्म मासिक कमाउँछन् । आफ्नो घर भएका अनेक व्यक्ति आफूलाई होमलेस –घरबारविहीन– बताउँदै सडकमा माग्ने व्यवसाय चलाइरहेका हुन्छन् । कतिपय युवाहरू आफ्नो अध्ययनअनुसारको काम खोज्ने र गर्ने नगरेर आफ्नो रूप बिगार्छन् र माग्ने काम गर्न थाल्दछन् । उनीहरूलाई आफ्नो घरबार, आमा–बाप्रति कुनै लज्जाबोध हुँदैन । मगन्ते भई उठेको रकमबाट उनीहरू लागुऔषध किन्ने र त्यसको सेवन गर्ने गर्दछन् । पेसेवर मगन्तेहरूको आ–आप्mनो इलाका हुन्छ जहाँ नयाँहरूले प्रवेश पाउँदैनन् । इलाका अथवा लोकेसन हेरेर मगन्तेहरूको आम्दानी कम अथवा बेसी हुने गर्दछ । ती मगन्तेहरूले जति रकम बनाए पनि त्यसको ट्याक्स तिर्दैनन् किनभने माग्ने काम भनेको नगद कारोबार हो र सबैभन्दा बढी कर छल्ने काम नगद कारोबार मै हुने गर्दछ ।

अर्को घटना–प्रसङ्ग अलि फरक र सामान्य किसिमको रह्यो । नेपाल फर्किन लागेको दिन मलाई विदाइ गर्न साथीहरूसमेत हामी डलास आइएडी विमानस्थलतर्फ जाँदै थियौँ । म करिब दश महिना भर्जिनिया बसेर नेपाल फर्किँदै थिएँ । गाडी आफ्नो गतिमा अगाडि बढिरहेको बेला अचानक बाटो जाम जस्तो हुन गयो । गाडीको स्टार्ट नै बन्द गरेर बस्नुको विकल्प रहेन । यस्तैमा गोरो वर्णकी एक महिला हाम्रो गाडीको झ्यालमा आएर हात पसार्दै पैसा माग्न थाली । साथीहरूले वास्ता गरिरहेका थिएनन्, मलाई कुन्नी के लाग्यो, खल्तीबाट पाँच डलरको नोट झिकेर त्यो महिलालाई दिएँ । उसले एक छिन मलाई हेरी अनि केही नभनी अर्को गाडीतिर लम्किई । साथीहरूले ठट्टा गर्दै भन्न लागे, ‘ल, तपाईंले संसारको सबभन्दा गरिब मुलुकबाट आएर संसारको सबैभन्दा धनी मुलुकको भिखारीलाई पाँच डलर दिनुभयो । पाँच डलर भनेको नेपालको झण्डै पाँच सय रुपैयाँ ।’

मलाई भने आर्लिङ्गटनमा त्यो ठुलो मलको पार्किङस्थलमा एक डलर माग्दा हामीसित छैन भन्दा ‘ओह, यू डोन्ट ह्याभ वान डलर ! आई एम सरी’ भन्दै हामीबाट टाढा गइसकेकी मगन्ते महिलाको सम्झना आइरहेको थियो । मलाई लागिरहेको थियो– यदि त्यो महिलालाई मैले पाँच डलर दिएको भए उसले मलाई के भन्ने थिई होला ? ‘थ्याङ्कयू सो मच’ ? ‘गड ब्लेस यू’ ? अथवा अरू नै केही ? ममा यस्तो सोच आउनुको पनि कारण थियो, त्यसो त मगन्तेलाई छनोट गर्ने वा दातालाई केही भनी हाल्ने अधिकार हुँदैन तर भिखारी नै भए पनि सायद ऊ अन्यभन्दा धेरै फरक जो थिई ।

सम्बन्धित समाचारहरु