के कारणले लाग्छ आँखा पाक्ने रोग ? कसरी बच्ने ?

के कारणले लाग्छ आँखा पाक्ने रोग ? कसरी बच्ने ?


आँखामा देखिने विभिन्न समस्याहरुमध्ये आँखा पाक्ने समस्या एक प्रमुख समस्या हो । सामान्यतया: आँखा पाक्ने रोग बाह्रै महिना देखिएता पनि गर्मी महिनामा भने यो समस्याबाट गुज्रिनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ । सोहि समस्या यतिबेला देशैभर फैलिएको छ । 

अहिले काठमाण्डौ उपत्यकासहित देशैभरका विभिन्न जिल्लाका आँखा अस्पतालमा सयौँको सङ्ख्यामा बिरामीहरु उपचारका लागी पुग्ने गरेका छन् । विषेशगरी अहिले पानी पर्ने सिजन भएकाले आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने बिरामीहरुको सङ्ख्या अत्याधिक हुने गरेको छ । 

कसरी सर्छ आँखा पाक्ने रोग ? 
यो एक सरुवा रोग हो । खासगरी गर्मीयाममा धुलोधुवाँ बढी हुने भएकाले हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिने गर्दछ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ । एडिनो भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने राेग छिटो सर्छ । त्यस्तै, आफूबाहेकका अन्य ब्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्काेमा सर्ने हुन्छ । आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ । यदि घरमा एक जनाको आँखा पाकेको छ भने उक्त समस्या परिवारका अरु सदस्यलाई पनि सर्दछ ।

बच्न उपाय के-के हुन् ? 
यसबाट बच्नका लागि सकेसम्म बिरामीको सम्पर्कबाट बच्ने आँखा सफा राख्ने, आँखामा पानीले छ्याप्ने गर्नुहुँदैन । अरुको चश्मा तथा लेन्सको प्रयोग नगर्ने जथाभावी औषधिको प्रयोग नगर्ने,  आँखाको सरसफाइमा विशेष ध्यान दिने, फोहोर हात वा हात नपखाली आँखा नमाड्ने र आँखा सम्बन्धि केही समस्या परेमा तुरुन्त डाक्टरसँग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्नुपर्दछ । त्यस्तै, कामबाट बेलुका घर फर्किएपछि एक पटक आँखालाई चिसोपानीले धुनुपर्छ । यसले आँखालाई धुलो, धुवाँ, केमिकल र संक्रमण हुनबाट जोगाउँछ । आँखा पाक्ने रोग लागिसकेको छ भने आँखालाई दिनको दुई–तीन पटक मनतातो पानीले सफा गर्ने, आँखा बन्द गरेर बस्ने, आराम दिने, आफूले प्रयोग गरेको रुमाल, चश्मा, मोबाइल अरुलाई प्रयोग गर्न नदिनाले आँखा पाक्ने रोगबा बच्न सकिन्छ ।  

Logo