सिरहाको होटलमा शंकास्पद अवस्थामा युवक मृत फेला

सिरहाको होटलमा शंकास्पद अवस्थामा युवक मृत फेला


सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षिय सिद्धान्त भट्टराईको शव फेला परेको हो।

विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपी (अभ्यास पुस्तिका)को मार्केटिङ गर्दै आएका भट्टराईले बास बस्न रुम बुक गराएको सहदेव होटलमा सँगै रहेका सोही ठाउँका गाडी चालक २७ वर्षिय सागर राईलाई छोडेर निस्केका भए पनि उनको शव नजिकै रहेको शम्भु होटलमा भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेकोले तत्काल केही भन्न नसकिने बताए। उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, अहिले नै यहि भएको हो भन्न सकिने अवस्था छैन।’

छातिमा निलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाइ छ। प्रहरीका अनुसार सहदेव होटलमै खाजा खाना खाएका भट्टराई शम्भु होटलमा गएका थिए। त्यहाँ भट्टराईले एउटा बियर लिएको बताए। उनले बियर खाएकै ठाउँमा सर्ट खोलेर कुर्सीमा झुड्याएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। भट्टराईको शव भने कोठाभन्दा बाहिर फेला परेको प्रहरीले जनाएकाे छ।

होटलका सञ्चालक शम्भु साहले भट्टराई राति ११ बजेको आसपासमा आफ्नो होटलमा आएको बताए। उनले बियर मागेर पिएको र केहीबेरमा शौचालय कता छ भन्दै साेधेको बताए। उनले भने, ‘मैले शौचालय देखाइदिएँ, शौचालयबाट फर्कने क्रममा भित्र नआई माथि छतमा गएकाे हाेला, छतबाट लडेको हुनक्छ।’

साहले भने, ‘हामी काममा भएकोले तत्काल थाहा पाएनौं, राति १ बजे मैले नै देखें र तत्काल प्रहरीलाई खबर गरेको हुँ, प्रहरी पनि तत्काल आइपुगे ।’ शव अहिले घटनास्थलमै रहेको छ। मृतकका आफन्त आइरहेकोले शव उनीहरुकै उपस्थितिमा उठाउने गरी राखिएको प्रहरीको जनाएको  छ।

Logo