आज राष्ट्रियसभाअन्तर्गतका दुई समिति बैठक बस्दै, संघीय संसद्को बैठक शनिबार मात्र

आज राष्ट्रियसभाअन्तर्गतका दुई समिति बैठक बस्दै, संघीय संसद्को बैठक शनिबार मात्र


राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू बिहीबार (आज) का लागि बोलाइएको छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो ।

दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०र८१ को कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ । राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । तर, त्यस बैठकको अजेन्डाका विषयमा संसद सचिवालयले केही खुलाएको छैन ।

प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदका दुबै सदन अवरोध जारी राखेका कारण आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक राखिएको छैन । बुधबारको बैठकमा पनि एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको थियो । उसले दुबै सदनमा अवरोध जारी राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा ११ बजेका लागि बोलाइएको छ ।

Logo