जिसस कानून निर्माणलाई प्राथमिकतामा राख्न एमाले सचेतक बर्तौलाको माग

जिसस कानून निर्माणलाई प्राथमिकतामा राख्न एमाले सचेतक बर्तौलाको माग


नेकपा एमालेका सांसद महेश बर्तौलाले जिल्ला समन्वय समिति (जिसस)को भूमिका स्पष्ट पार्दै काम, कर्तव्य र अधिकारको प्रभावकारीताका लागि आवश्यक कानून निर्माणमा ध्यान दिन सरकारसंग माग गरेका छन् । 

जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको पहिलो समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनमा सांसद बर्तौलाले जिल्ला समन्वय समितिको विषयलाई सबै राजनीतिक दलको साझा महत्वको विषय बनाउनुपर्ने बताएका हुन् । 

साथै उनले संविधानले चिनेको संयन्त्रलाई प्राथमिकता दिएर आवश्यक कानून निर्माण कार्यलाई पूर्णता दिन सरकारसँग माग गरे । 

संसदको प्रमुख प्रतिपक्षी दल एमाले कानून निर्माण प्रकृयामा साथ दिन तयार रहेको बतएका उनले भने, ‘एमालेको तर्फबाट म यहाँहरुलाई भन्न चाहान्छु यो विषयमा सिङ्गो सबै राजनीतिक दलका नेतृत्वले सकारात्मक दृष्टिकोणका साथ पहल कदमी र भूमिका निर्वाह गर्नुपर्दछ । त्यसकारण यसमा सरकारले पहलकदमी लियोस् । यो प्रकृयामा सहयोग पु-याउनुपर्ने आवश्यक कानून निर्माण गरेर जिल्ला समन्वय समितिहरुलाई देखिनेगरी भूमिकामा रहन पाउने गरी अगाडि बढाउन हामीले निर्वाह गर्नुपर्ने भूमिका निभाउन प्रमुख प्रतिपक्षीदलको तर्फबाट सहयोग गर्न तयार रहेको कुरा म हात उठाएर भन्न चाहान्छु । राज्यले चिनेको, संविधानले चिनेको यो संरचनालाई संघीय सरकारले हामीले नचिन्न पाउँदैनौँ ।’

सांसद बर्तौलाले संविधानले चिनेको राज्य संयन्त्रलाई कानून अभावमा स्थानीय,संघ र प्रदेश सरकारले नचिन्ने अवस्थाको अन्त्य गर्नका लागि जतिसक्दो चाँडो सरकारले कानून निर्माण प्रकृयालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

Logo