कार्ड नहुँदा रोकियो चालक अनुमतिपत्र छपाइ

कार्ड नहुँदा रोकियो चालक अनुमतिपत्र छपाइ


‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ।

अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।

अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ। नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमति पत्रको सङ्ख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरुले बताए।

अहिले खरिद गरिएका कार्ड पहिलो पटक छ लाख आउन लागेका बताइएको छ। त्यसपछि दोस्रो पटकमा पनि छ लाख खरिदका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

सरकारले नागरिकलाई सजिलो रूपमा सेवा दिन ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा पटक पटक नागरिकले दुःख पाइरहेका छन्। कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन सेका छैनन्।

Logo