#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32090148981923743418123674044
नेपाल678044361741449954

मनकारी घरधनीहरूको आग्रह-“नि:शुल्क क्वारेन्टाइनका लागि हाम्रो घरमा आउनुहोस्”

विश्वभर कोरोना भाइरस (कोभिड १९ )ले आतंक मच्चाइरहेको छ । चीनको वुहानबाट शुरू भएको यो भाइरस अहिले विश्वका एक सय ६२ वटा देशमा फैलिसकेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सबै देशहरूले आ आफ्नो क्षमता अनुसारको तयारी गरेका छन् । चीनले १० दिनमै एक हजार शैय्याको अस्पताल बनाएर संचालनमा ल्यायो । अमेरिका, इटाली, इरानलगायतका मुलुकले संकटकाल घोषणा गरेर विशेष प्याकेज ल्याएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाबाट अति जोखिम मुलुकको सूचीमा राखेको छ । सरकारले  पनि आफ्नो क्षमता अनुसारको तयारी गरिरहेको छ । त्यो तयारीले कोरोनाको रोकथाम तथा नियन्त्रण सम्भव होला वा नहोला त्यो भविष्यले बताउला । तर, कोरोना भाइरसविरुद्ध लड्न काठमाडौँका केही  घरधनीहरूले आफ्नो मन फराकिलो बनाएका छन् ।

उनीहरूले भाडामा दिन ठिक्क पारिएको आफ्नो घरलाई नि:शुल्क क्वारेन्टाइन बनाउन चाहेका छन् । यसरी कोरोनाविरुद्ध लड्न अग्रसर घरधनीहरू हुन् सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतम । उनीहरूले  क्वारेन्टाइमा बस्नुपर्ने व्यक्तिका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

सिफलका चिराग गोयलले कोरोना भाइरससँग लड्न सरकारले सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने भएकाले आफूहरुले सहयोग गर्न लागेको बताए । उनले सिफलमा रहेको ९ वटा कोठा रहेको घर क्वारेन्टाइनका लागि छुट्याएका छन् । ‘यो हाम्रो सिफलस्थित खाली घर हो, हामीले यो घर १४ दिन क्वारेन्टाइन बस्नपर्नेका लागि नि:शुल्क रूपमा उपलब्ध गराउदै छौं । यो घरमा ९ वटा कोठा  ३ वटा बाथरूम छन् । छतमा २ वटा कोठा पनि बनाउन सकिन्छ ।’ उनले फेसबुकमा लेखेका छन्  । उनले सरकार अथवा गैरसरकारी संस्थाले अस्थायी अस्पतालकारूपमा प्रयोग गर्न चाहे पनि उपलब्ध गराउने उल्लेख गरेका छन् ।

 

त्यस्तै कुलेश्वरका लालचन्द्र गौतमले पनि क्वारेन्टाइनका लागि निःशुल्करूपमा आफ्नो घर उपलब्ध गराउने घोषणा गरेका छन् । उनले  बेच्नका लागि बनाउंदै गरेको घर क्वारेन्टाइन प्रयोजनका लागि उपलब्ध गराउन लागेका हुन् । उनको यो साढे ४ तल्लाको घरमा २ वटा फर्निचरसहितको बेड रुम, २ वटा किचेन, ३ वटा खाली बेडरुम र २ वटा लिभिङ रुम खाली अवस्थामा रहेको छ । सरकारले तत्काल अस्पताल बनाउन नसक्ने बताउंदै उनले अस्थायी अस्पतालका लागि पनि घर दिन इच्छुक रहेको बताएका छन् ।

 

मङ्गलबारसम्म विश्वभर कूल एक लाख ९७ हजार १४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसका कारण सात हजार ९१६ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये कुल ८१ हजार ७३८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

सम्बन्धित समाचारहरु