#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32663446991034758019624092216
नेपाल706144591828951866

चुनौतीको चाङ टेकेर सफलताको शिखर चुमेका डा. चिरन्जीबि नेपाल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालको पाँच वर्षे कार्यकाल आज सकिँदैछ । उनी जब गभर्नरको हैसियतमा राष्ट्र बैंक प्रवेश गरे त्यो बेलादेखि नै अप्ठ्यारो र असहज परिस्थितिको सामना गर्नुपर्‍यो ।

०७१ चैत्र ५ गते डा. नेपाल गभर्नरको हैसियतमा राष्ट्र बैंक छिरेका थिए । उनी राष्ट्र बैंक छिरेको एक महिनापछि ०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प गयो । जसका कारण मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भयो । त्यस्तो कठिन परिस्थितिमा वित्तीय क्षेत्रको नेतृत्व र नियमन गर्नु पक्कै सजिलो काम थिएन । तर पनि डा. नेपालले हिम्मत हारेनन् । भूकम्पपीडितलाई नीजि घर निर्माणका लागि सहुलियत दरमा कर्जादेखि पुर्नउद्धार कोष समेत बन्यो ।

भूकम्पको पीडा विर्सन नपाउँदै त्यसको ५ महिनापछि भारतले नाकाबन्दी लगायो । जतिबेला नेपालमा दैनिक उपभोग्य सामान, दाल, चामल, नुन, तेल, ग्याँसदेखि सबै कुराको अभाव भयो । आम जनताले निकै दुःख कष्ट पाए । यो परिस्थति पनि उनका लागि कम्ती चुनौतीपूर्ण थिएन ।

डा. नेपाल पूर्वप्रधानमन्त्री स्वर्गिय शुसिल कोइरालाका पालामा गभर्नर भएका थिए । तत्कालिन अर्थमन्त्री डा.रामशरण महतले भने डा. नेपाललाई गभर्नर बन्न सहयोग गरेका थिएनन् । नेपाल प्रधानमन्त्री कोइरालाले रुचाएका पात्र थिए । जसका कारण उनी गभर्नर भए । यो पाँच वर्षको अन्तरालमा डा. नेपाललाई सरकारसँग काम गर्न भने सहज भएन । यसको एउटै मात्र कारण थियो व्यक्तिगत र राजनीतिक इबी ।

व्यक्तिगत इबी राखेर सरकारका सचिवदेखि मन्त्रीसम्मले काममा डा. नेपाललाई असहयोग गरे । त्यति मात्रै कहाँ हो र राष्ट्र बैंकको ३० वर्षे अवकास नीति हटाउने विषयमा विवाद हुँदा तत्कालिन नेकपा एमाले निकट राष्ट्र बैंकका कर्मचारीले डा.नेपाललाई आफ्नै कार्यकक्षमा थुनेर अभद्र व्यवहार समेत गरेका थिए । गभर्नर जस्तो मर्यादित पदको व्यक्तिसँग समस्या राख्ने र समाधान गर्ने अन्य विकल्प हुँदाहुँदै पनि डा. नेपाललाई पार्टीगत इबीका कारण कार्यकक्षमा थुनिएको थियो । त्यतिबेला ३० वर्षे अवकास नीति हटाउनु हुन्न भन्ने राष्ट्र बैंकका दुई जिब्रे कर्मचारीहरु अहिले हटाउनुपर्छ भन्दै हिँड्न थालेका छन् ।

राष्ट्र बैंक एउटा स्वायत्तता संस्था हुँदा हुँदै पनि हरेक तबरबाट राष्ट्र बैंकको स्वायत्ततामा आँच पुर्‍याउने काम गरियो । तर उनले राष्ट्र बैंकको स्वायत्ततालाई बचाइराख्न हदैसम्मको प्रयास गरे । उनलाई काम गर्न सबैभन्दा असहयोग गर्ने पात्र हुन् हालका बहालवाला अर्थमन्त्री डा.युवराज खतिवडा । आफूलाई विज्ञ अर्थमन्त्रीको रुपमा प्रस्तुत गर्न चाहने अर्थमन्त्री खतिवडाले पटक पटक राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्ने काम गरिरहे । उनले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको एउटा विभाग हो जस्तो व्यवहार गर्ने गरेको जानकार बताउँछन् । एकताका त डा. नेपाल राजीनामा दिने अवस्थामा समेत पुगेका थिए । तैपनि उनी डगमगाएनन् ।

‘कहि नभएको जात्रा हाँडी’ गाउँमा भने जस्तै डा. नेपालले आफ्नो कार्यकालमा ५ जना प्रधानमन्त्री र ४ जना अर्थमन्त्री भोगे । हरेक मन्त्रीहरुसँग काम गर्दाको असहज परिस्थितीलाई उनले सहज बनाउँदै लगे । अब उनको कार्यकालको समीक्षा हुन थालेको छ । उनी सफल कि असफल भनेर । सफलताको विउ त डा.नेपालले आर्थिक वर्ष २०७२/७३ मै रोपेका थिए । उनको सुरुवाती काम नै दीर्घकालिन सफलता दिलाउने काम थियो ।

च्याउ झैँ उम्रिएका बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि गरेर उनले संस्था बलियो बनाउने देखि संख्या घटाउने संम्मका महत्वपूर्ण काम गरेका थिए । तर त्यो काम धेरैलाई पचेन । तल्कालिन अवस्थामा पूँजी वृद्धिको धेरै विरोध भयो भने डा.नेपालको आलोचना । उनलाई यस विषयमा संस्दमा धेरै पटक स्पष्टिकरण पनि दिनु परेको थियो । २ वर्षको अन्तरालमा ४ देखि २५ गुणाले पूँजी बढाउनु पर्ने भएपछि बैंकका लगानीकर्ताहरुले सो नीतिबाट पछाडी हट्न डा.नेपाललाई ठुलै दबाब दिए । तर उनी आफ्नो बोल्ड निर्णयबाट पछि हटेनन् । र, कार्यान्वयन गरि छाडे । पछिल्लो समय बैंकिङ क्षेत्रका लागि पूँजी वृद्धि सहि थियो भन्ने लागेपछि धारे हात हाल्नेहरुले ठिक हो भन्न थालेका मात्रै छैनन् । मर्जर तथा पूँजी वृद्धि गर्ने काममा सहयोग र सहभागी समेत भएका छन् ।

पछिल्लो समय बैंकिङ संस्थाको प्रणाली ह्याकिङ, एटिएम ह्याकिङ लगायतका साइबर सुरक्षाको चुनौती बढेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई बलियो बनाउनै पर्ने देखेपछि गभर्नर नेपालको कदम ठिक रहेछ भन्ने महसुस गर्न थालिएको छ । किन कि बैंक जति बलिया भए साइबर सुरक्षाका लागि प्रविधीमा लगानी गर्न त्यति नै सजिलो हुन्छ । गभर्नर नेपालले २०७२/७३ मा वाणिज्य बैंकको संख्या घटाउने उद्देश्य राखेका थिए । तर वाणिज्य बैंकहरु टसमस भएनन् ।

विकास बैंक, वित्त कम्पनी लगायतका वित्तीय संस्थाहरु भने उल्लेख्य मात्रामा घटे । त्यतिबेला वाणिज्य बैंकहरु टसमस नभएपछि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विग मर्जर ल्याउन चाहेका थिए । तर अन्तिम अवस्थामा अर्थमन्त्री तगारो बनेपछि विग मर्जरबाट पछि हट्नु पर्‍यो । तर उनकै कार्यकालमा ग्लोबल आइएमई बैंक र जनाता बैंकको विग मर्जर भएको छ । ‘विग मर्जर भएरै छाड्छ, मेरो पालामा विउ रोपिएको छ ।’ गभर्नर नेपालले भने । हाम्रो बजारले धेरै बैंक तथा वित्तीय संस्था धान्न सक्ने अवस्था छैन । त्यसकारण विग मर्जर नआएपनि स्वतः मर्जरमा जानुपर्ने वाध्यता बैंक तथा वित्तीय संस्थालाई छ ।

उनी गभर्नर हुँदा यो मान्छेले वित्तीय क्षेत्रको नेतृत्व गर्न सक्दैन भन्नेहरुको कमी थिएन । त्यसका साथै वित्तीय क्षेत्रको नेतृत्व गर्न राष्ट्र बैंककै क्याडर हुनुपर्छ भन्ने मान्यतालाई पनि डा. नेपालले गलत सावित गरेर देखाए । उनले समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थापन गरेर अर्काे महत्वपूर्ण काम गरेका छन् । उनी आउँदा एक दर्जनको हाराहारीमा भएका समस्याग्रस्त संस्थाहरुलाई व्यवस्थापन गरेर समस्याग्रस्त संस्थाको तनाबबाट राष्ट्र बैंकलाई मुक्त गरिदिए ।

उनले आफ्नोकाल सफलतापूर्वक बिताएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको विश्लेषण छ । डा. नेपालले आफ्नो कार्यकालमा इतिहासमै पहिलो पटक मुलुकका कुना काप्चामा वित्तीय पहुँच पुर्‍याउन सफल भए । उनी गभर्नर हुँदा ३५ र ४० प्रतिशत रहेको वित्तीय पहुँच ६१ प्रतिशतको हाराहारीमा पुर्‍याएका छन् भने ४० प्रतिशत त अझै वित्तिय पहुँच बाहिरै छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४० लाख बैंक खाता थपिएको राष्ट्र बैंकको तथ्यांक छ ।

छोटो र छिटो सहज तरिकाले भुक्तानी गर्न आरटीजीएस प्रणालीको सुरुवात उनले गरेका छन् । शुद्धिकरण निवारणका लागि राष्ट्र बैंकले गोएमएल सफ्टवेरको सुरुवात गरेको छ यसलाई लागू पनि गरिसकेको छ । सुपरभाइजरी इन्फरमेशन सिस्टम (एसआइएस) को पनि सुरुवात गरेको छ ।

सम्बन्धित समाचारहरु