असार मसान्तसम्म मेलम्चीको पानी सुन्दरीजल आउँछ–मन्त्री मगर

असार मसान्तसम्म मेलम्चीको पानी सुन्दरीजल आउँछ–मन्त्री मगर


काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तसम्ममा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छिन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री मगरले असार मसान्तसम्म पानी आउने बताएकी हुन् ।

बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको जानकारी दिएकी थिइन् । अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उनको भनाइ छ । उनले भनिन्–‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभामा प्रतिबद्धता जनाइसकेका छौँ । र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडि बढ्छ ।’

समिति सभापति कल्याणीकुमारी खड्काले सुन्दरीजलसम्म पानी खसाल्नुले मात्रै आयोजना पूरा नहुने भन्दै काठमाडौंबासीको घरघरमा पानी पु¥याउने कामलाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिइन् । आयोजना क्षेत्रका स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्ची सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै सांसदहरुले खानेपानी आयोजनाको कूल लागत, स्थानीयका समस्या समाधान र काठमाडौंसम्म पानी आइपुग्न लाग्ने समयको जानकारी माग गरेका थिए । सांसद बहादुरसिंह लामाले सीएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति लाग्यो ? अब कति लाग्छ भन्दै प्रश्न गरेका थिए । सांसद गणेश पहाडीले सीएमसीले सप्लायर्सहरुलाई दिनुपर्ने भूक्तानीका विषयमा के भइरहेको छ भन्दै प्रश्न गरे ।

त्यस्तैगरी सांसद रंगमती शाहीले अहिलेसम्म जनताले मेलम्चीको पानी किन खान पाएनन भन्दै प्रश्न गरेकी थिइन् । सांसद शाहीले भनिन्–‘दशैमा पानी आउँछ भनेर मन्त्री ज्यू जोशिनु हुन्छ । जोश इच्छा शक्ति ठूलै देखिन्छ । पावर पनि ठूलै छ । तर जनताले पानी खान किन पाएनन् ।’

मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत मात्र काम बाँकी रहेको छ । रक डबेल जडान ग्राउण्डिङ, इन्र्भट कंक्रिट हाइड्रो मेकानिकल गेट जडान सम्पन्न भएको आयोजनाले उल्लेख गरेको छ ।

Logo