भरतपुर महानगर र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम

भरतपुर महानगर र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम


भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

आज संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र सिगात्सेका मेयर वाड्ग फड्ग हुड्गले दुई पक्षीय सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 

भगिनी सम्बन्ध कायम गरेसँगै दुई शहकाबीच कृषि, पर्यटन, अर्थ, संस्कृतिलगायत विभिन्न विषयमा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । 

यस्तै, पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक सम्बध कायम राखी दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पर्यटन, पशुपालनलगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ । 

सम्झौतामा हस्ताक्षरपछि महानगर प्रमुख रेणु दाहालले खुसी व्यक्त गर्दै समझदारीले दुई देश र दुई शहरबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् । उनले भनिन्, ‘आज हामीबीच समझदारी भएको छ । यसले आगामी दिनमा दुई देश र सहरबीच बलियो सम्बन्ध र प्रगाढ सम्बन्ध बन्नेछ भन्ने विश्वास लिएका छौँ ।’

आजैदेखि लागू हुने समझदारी पत्रको समयावधि पाँच वर्षको छ ।

Logo