काठमाडौँ महानगरपालिकाले दुई महिनामा ३ हजार कुकुर तथा बिरालाको बन्ध्याकरण गर्‍यो

काठमाडौँ महानगरपालिकाले दुई महिनामा ३ हजार कुकुर तथा बिरालाको बन्ध्याकरण गर्‍यो


काठमाडौँ महानगरपालिकाले ६० दिनमा ३ हजार ४६९ सामुदायिक कुकुर तथा बिरालाको बन्ध्याकरण गरेको छ। सोही समयमा ५ हजार ३२० वटा कुकुर तथा बिरालालाई रेबिजविरुद्धको खोप दिइएको छ।

यही गतिमा काम गरी मंसिर मसान्तभित्र सामुदायिक कुकुर र बिराल सबैलाई बन्ध्याकरण र खोप दिइसक्ने महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताए। असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटा वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको थियो।

उनले भने, 'हामीले सोचेजस्तो धेरै कुकुर र बिरालाको संख्या भेटिएन। टोलमा भेटिएका कुकुर/बिरालालाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशु कल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुन:स्थापन गरिरहेका छौँ। बन्ध्याकरण गरिएका कुकुर/बिरालाको कानमा सानो चिन्ह लगाएको छ। हाम्रो लक्ष्य भनेको सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने हो।' 

कुकुर/बिराला देखेमा कल सेन्टरको निःशुल्क फोन नम्बर ११८० मा जानकारी दिन पनि उनले अनुरोध गरेका छन्। काठमाडौँ महानगरपालिकाले २०८० मा कुकुर/बिरालाको बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ। यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइएको हो। घरपालुवा जनावरको हकमा भने घर धनी आफैँले बन्ध्याकरण र खोपको व्यवस्था मिलाउन पनि उनले अनुरोध गरेका छन्। 

Logo