रास्वपा सांसदहरुले गरे निर्वाचन क्षेत्रका जनतासँग सार्वजनिक सुनुवाई

रास्वपा सांसदहरुले गरे निर्वाचन क्षेत्रका जनतासँग सार्वजनिक सुनुवाई


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं निर्वाचन क्षेत्र नं ६ र ७ का जनप्रतिनिधिले आफ्नो क्षेत्रका जनतासँग पहिलो सार्वजनिक सुनुवाई गरेका छन् । रास्वपा काठमाडौंका प्रतिनिधिले निर्वाचन क्षेत्रबाट चुनिएर संसदमा पुगेको एक वर्ष पूरा भएको उपलक्ष्यमा आफूले गरेका कामबारे जनतालाई बुझाउन र उनीहरुको समस्या,गुनासो सुन्न निर्वाचन क्षेत्रमा आज सुनुवाइ गरेको हो ।

आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सांसद बनेका शिशिर खनालले जनताको गुनासो सुन्ने औपचारिक माध्यमको रुपमा सार्वजनिक सुनुवाइ गरेको बताए । उनले आफूले निर्वाचन क्षेत्रको कतिपय समस्या समाधान गरेको र कतिपय विकास निर्माणको काममा देखिएको समाधान गर्न पहल गरेको बताएका छन् । 

जनतासँग घरदैलोमा सुनेका समस्या जति सबैलाई समाधान गर्न नसकेको उल्लेख गर्दै त्यसका लागि इमान्दार प्रयास भने जारी राखेको उनको भनाई छ । 

‘मैले संसदमा यहाँहरुको आवाज बन्ने प्रयास गरेको छु । विकास निर्माणको कुरामा यहाँहरुसँग मिलेर पुलको रुपमा काम गर्ने प्रयास गरेको छु । तर, त्यसका बाबजुद पनि मलाई के थाहा छ भने तपाईहरुका अत्यन्त धेरै समस्याहरु छन् । सिमित स्रोत साधनका बाबजुद पनि हाम्रो प्रयासले तपाइका सबै समस्या र आवश्यकतालाई हामीले पूरा गर्न सकेका छैनौ । त्यसैले हामीले प्रत्यक्ष रुपमा कार्यकारी भूमिकामा रहनुभएका व्यक्तिहरुसँग बाँड्ने प्रयास गरेका छौं।’

कार्यक्रममा काठमाडौं जिल्लाको कार्यकारी भूमिकामा रहेका स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीहरुलाई सहभागी गराइएको थियो । 

यस्तै, काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधि सभामा निर्वाचित अर्का सांसद गणेश पराजुलीले संसदमा आफूहरुले कानून निर्माणदेखि सरकारलाई जनउत्तरदायी बनाउने  कार्यमा सांसदको रुपमा भूमिका खेल्दै आएको उल्लेख गर्दै स्थनीय सरकारलाई प्रभावकारी बनाउन जनता आफैंले पनि खबरदारी गर्न जरुरी भएको बताए । उनले स्थानीय निकायका वडादेखि नगरप्रमुख सम्मलाई जनताको पक्षमा प्रभावकारी काम गर्न गराउन सार्वजनिक सुनुवाइका लागि खवरदारी गर्न, विकास निर्माणमा सहभागीता जनाएर प्रश्न गर्न समेत जनतालाई आग्रह गरे । 

पराजुलीले जनताको कसीमा सबै जनप्रतिनिधि जवाफदेही र खरो उत्रन सकुन भन्ने हेतुले आज जनतासँग जनप्रतिनिधिको सार्वजनिक सुनुवाइ गराएको बताए । ‘संघीयताको तीन तहको सरकार सञ्चालन प्रणालीमा निर्वाचित भएर आफ्नो भूमिका निर्वाह गरिरहनुभएका प्रत्येक जननिर्वाचित प्रतिनिधिलाई हामीले आज अनुरोध गर्न खोजेको हो, ताकि जनताको कसीमा हामी सबैजना खरो उत्रिन सकौं ।’ 

संघीय संसदमा निर्वाचित भएर गएका जनप्रतिनिधिको मुख्य कार्य नै संघ, प्रदेश, स्थानीय तहलाई आवश्यक पर्ने कानून निर्माण गर्ने रहेको उल्लेख गर्दै एक वर्ष बढीको समयमा दुईओटा मात्रै कानून निर्माण गरेकोप्रति आफैंलाई लाज लागेको बताए । जनतालाई जुन तहका लागि निर्वाचित गराएर पठाएको हो त्यो तहका जनप्रतिनिधिलाई आफैंले खबरदारी गरेर काम गर्न दबाब सिर्जना गर्न उनले आग्रह गरे । 

काठमाडौंको निर्वाचन क्षेत्र नं ६ र ७ बाट प्रत्यक्ष निर्वाचित र समानुपातिक रुपमा चुनिएका रास्वपा प्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग उनीहरुको सरोकारको विषयमा चासो दिएर सरोकारवाला निकायसँग समन्वयन गरी जनतालाई प्रश्न गर्ने वातावरण बनाएको हो । विभिन्न वडाका नागरिकले आ–आफ्नो क्षेत्रको समस्या र गुनासाहरु कार्यक्रममा सरोकारवालासँग राखेका छन् । 

Logo