एकैदिनका खबर एकैपटकः गठबन्धन नभत्किएसम्म प्रचण्ड नै प्रधानमन्त्री, सन्दीप राष्ट्रिय टीमबाट स्वतः अलग [भिडियाेसहित]

एकैदिनका खबर एकैपटकः गठबन्धन नभत्किएसम्म प्रचण्ड नै प्रधानमन्त्री, सन्दीप राष्ट्रिय टीमबाट स्वतः अलग [भिडियाेसहित]


बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ। सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन्।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

गठबन्धनमा भएको सहमति पूरा नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री

सत्तासाझेदार दल नेपाली काँग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री हुने जनाएको छ।केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको सहमति पूरा नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका हुन्। 

बालकुमारी घटनाः सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन, २ लाख दिने प्रदेश सरकारको घोषणा

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि धनगढीमा प्रदर्शन गरिएको छ। 

सदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मृतक शाहका आफन्तहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले त्यस क्रममा नाराबाजीसमेत गरेका थिए।

बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ। मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एकएक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

देवराज घिमिरेको सचिवालयको गाडी

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी नियनत्रणनमा लिएका छन्। पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए। उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन्।

१८ जनालाई म्यानिफ्याक्चरका लागि पनि फर्म भर्न दिन उच्च अदालत पाटनको आदेशलाई कोरियाले रेस्पोन्स गरेन 

सीप बिल्डिङको भाषा परीक्षामा सहभागी भएका १८ जनालाई म्यानिफ्याक्चरका लागि पनि फर्म भर्न दिन उच्च अदालत पाटनको आदेशलाई कोरियाले रेस्पोन्स नगरेको पाइएको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले दक्षिण कोरियालाई केही दिनअघि इमेल पठाए पनि उताबाट कुनै जवाफ आएको छैन।

गत पुस ५ गते उच्च अदालतले १८ जनालाई फर्म भर्ने अनुमति दिन आदेश गरेको थियो। त्यसलगत्तै ईपीएस शाखाले दक्षिण कोरियाको ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) लाई आदेशबारे जानकारी गराएको स्रोतले बतायो। तर, अहिलेसम्म जवाफ नआएको स्रोतको भनाइ छ।

कुलमान घिसिङले दुःख दिएको उद्योगीहरूले आरोप

डेडिकेटेड र ट्रंकलाइनको विषयलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुःख दिएको उद्योगीहरूले आरोप लगाएका छन्। 

पछिल्ला दिनमा प्राधिकरणले लोडसेडिङको बेला डेडिकेटेड र ट्रंकलाइन फिडर मार्फत विद्युत उपभोग गर्ने उद्योगीले बक्यौता नतिरेको भनेर बिजुली काटिरहेको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल २२ अर्ब २४ करोड बक्यौता रहेको विवरण सार्वजनिक गरेका थिए। 

नेपालमा अण्डा र कुखुराको मासुको खपत निकै कम 

विकसित मुलुकको तुलनामा नेपालमा अण्डा र कुखुराको मासुको खपत निकै कम हुने गरेको पाइएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ। 

चीनमा चार सय ३३, जापानमा तीन सय ९७, अमेरिकामा तीन सय २२ अण्डा वार्षिक प्रतिव्यक्ति खपत हुने गरेको छ। साथै विकसित मुलुकमा वार्षिक प्रतिव्यक्ति मासु ७४ दशमलव सात किलोसम्म खपत हुँदा नेपालमा सात दशमलव ५७ प्रतिशत मात्र खपत हुने गरेको छ।

सेन्टभिन्सेन्ट ग्रेनडाइन्समा ७४ दशमलव सात किलो खपत हुने गरेको छ । यस्तै इजरायलमा ६८ दशमलव नौ किलो तथा अमेरिकामा ५८ दशमलव सात किलो प्रतिव्यक्ति प्रतिवर्ष कुखुराको मासु खपत हुने गरेको छ।

जुम्लाको आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै स्कुल बन्द

जुम्लाको आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन्। जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।

नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिँदै

नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गर्ने तयारी भइरहेको छ। केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ। सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरुमा नयाँ वर्ष मनाइन्छ।

प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। अकल्याण्ड र सिड्नीमा निकै तयारी गरिएको छ। सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइँदैछ। किरिबाटीको कुल जनसङ्ख्या एक लाख १९ हजार रहेको छ। यसको राजधानी तरावा हो। 

बलात्कारमा दोषी ठहर्याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग

जिल्ला अदालत काठमाडौँले बलात्कारमा दोषी ठहर्याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन्। नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन्। अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्याएको थियो।

टी-२० क्रिकेटमा बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनल प्रवेशको सम्भावना कायमै राखेको हो। 

सुदूरपश्चिमले अब फाइनल प्रवेशका लागि कोशी प्रदेशको सामना गर्नेछ। यता आइतबार नै भएको पहिलो क्वालिफायरमा नेपाल एपीएफ क्लबले कोशीलाई ५२ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

Logo