टुँडिखेलमा माघीको भीड अनियन्त्रित हुँदा दर्जन बढी घाइते, हर्कले लगाइदिए उपकूलपतिको कार्यालयमा ताला [भिडियाेसहित]

टुँडिखेलमा माघीको भीड अनियन्त्रित हुँदा दर्जन बढी घाइते, हर्कले लगाइदिए उपकूलपतिको कार्यालयमा ताला [भिडियाेसहित]


टुँडिखेलमा माघीः भीड अनियन्त्रित हुँदा चेपिएर ८ जना घाइते

काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन्। माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ।

काठमाडौंवासीका घरमा पुनः मेलम्चीको पानी वितरण 

काठमाडौंवासीका घरमा आजदेखि पुनः मेलम्चीको पानी वितरण गरिएको छ। मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो।मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन्। तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पु¥याउन थालिएको हो ।बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो ।

मेलम्चीको खानेपानी वितरणमा मेयर बालेनकाे व्यंग्य  

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको खानेपानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन्।

मेयर बालेनले ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन्। उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन्।  

प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्टका लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडे

बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन्।पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा छ।

गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ।

संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको छः राष्ट्रपति 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताउँदै सङ्घीय संसद्मा रहेका दललाई संविधान कार्यान्वयनका लागि तत्काल आवश्यक कानून बनाउन आग्रह गरेका छन्।

माघीका अवसरमा शीतल निवासमा कार्यक्रममा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “नेपाली जनताको चाहना मैले पनि बुझेको छु। नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन्। उनीहरूको चाहनाअनुसार अगाडि बढ्ने हो। त्यसैले समावेशी सङ्घीय लोकातान्त्रिक गणतन्त्रलाई साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सवै मिलेर आजको दिनमा प्रण गरौँ।’

सर्लाहीकाे बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायाे

सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन्। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपतिकाे  कार्यकक्षमा मेयर हर्क साम्पाङले लगाए ताला

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।

बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मोटरसाइकलमा चढेर एक्लै गएका मेयर साम्पाङले कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन्।

त्यसपछि साम्पाङले वीपीका उपकुलपतिलाई चेतावनी दिँदै सामाजिक सञ्जालमा भनेका छन्,‘नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु  नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् नाम नबिर्सनु है।’ 

अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक वर्ष २०८०-८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ। पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ।

चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ। कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रु पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ। यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो।

कोलम्बियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६  पुग्याे

उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको  सङ्ख्या ३६ पुगेको छ। आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन्। राष्ट्रपति गुस्ताभो पेट्रोले सबै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यसैगरी पोप फ्रान्सिसले भ्याटिकनबाट पीडितहरूका लागि प्रार्थना गरेका थिए । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा पहाडको केही भाग ढलेर कारहरूको लाइनमा खसेको देखिन्छ। पहिरो खसेपछि लगत्तै केही मानिसहरू चिच्याएको आवाज सुनिन्छ।

प्रधानमन्त्री कपमा  त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई हरायाे

कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको मद्दतले त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेस प्रदेशलाई एक सय २६ रनको विशालअन्तरले हराएको छ। जारी प्रतियोगितामा आर्मी क्लबले आफ्नो पहिलो खेलमै जित हात पारेको हो ।

दोस्रो खेल खेल खेलेको मधेस प्रदेशको भने यो पहिलो हार हो ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ओभरमा सबै विकेट गुमाएर तीन सय २० रनको विशाल योगफल तयार पारेको थियो। जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो। यस्तै, आजै भएको खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

Logo