‘कोरोनाविरुद्ध सुरक्षा निकाय अग्रपंक्तिमा’ : गृहमन्त्री

‘कोरोनाविरुद्ध सुरक्षा निकाय अग्रपंक्तिमा’ : गृहमन्त्री


काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकाय अग्रपंक्तिमा उभिएर कोभिड–१९ विरुद्ध लडिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन विधेयक, २०७७ मा उठेको प्रश्नको जवाफ दिंदै उनले कोरोनाबाट उत्पन्न परिस्थितिको चुनौती सामना गर्न सुरक्षा निकायको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

गृहमन्त्री थापाले बन्दाबन्दीको कार्यान्वयन गर्न, विभिन्न नाकामा अड्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउन, आपूर्ति व्यवस्था सहजीकरण गर्न तथा क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय प्रशासन र प्रहरीको भूमिका प्रभावकारी रहेको उल्लेख गर्दै हाल कोभिड–१९ को रोकथामका लागि दक्षिणी सीमा क्षेत्रमा स्थायीसहित एक हजार २१३ स्थानमा विओपी स्थापना गरी सशस्त्र प्रहरीमार्फत रोकथामका कार्य गर्दै आएको जानकारी दिए ।

विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्री खरिदकार्य अघि बढाइएको तथा मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा समितिहरु क्रियाशील रहेको मन्त्री थापाको भनाइ थियो । उनले सङ्घीयता कार्यान्वयन गर्न र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजनका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मन्त्री थापाले सुरक्षा निकायलाई दक्ष बनाउन आवश्यक तालिम लगायतका कार्यक्रम जारी रहेको बताउँदै सङ्गठन व्यवस्थापन तथा सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेकाले त्यसको प्रतिवेदनका आधारमा सुरक्षा निकायको संरचनालाई थप व्यवस्थित बनाउँदै लगिने मन्त्रालयको योजना रहेको जानकारी दिए ।

उनका अनुसार चोरी, तस्करी, ठगी, अपहरण, बलात्कार लगायत आपराधिक कार्य रोक्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकिएको छ । गृहमन्त्री थापाले कुनै घटनामा कोही दोषी देखिए कडा कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक वा कुनै लोभमा परी कर्तव्यपालनमा विचलित भए सुरक्षाकर्मीसमेत कारवाहीको भागिदार हुने स्पष्ट पारे ।

आगामी आर्थिक वर्षमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा सिसीटिभी जडानका कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउँदै उनले अपराध अनुसन्धान र नियन्त्रणमा सुरक्षा निकाय सफल रहेको जिकिर गरे ।

Logo