लकडाउनकाबीच अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको काम तीव्र

लकडाउनकाबीच अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको काम तीव्र


काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सुस्ताएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको कामले पुनः गति लिएको छ । सामाजिक दूरी, सेनिटाइजरको प्रयोगलगायतका आवश्यक स्वास्थ्य सवाधानी सम्बन्धि निर्देशिकाको पालना गर्दै निर्माण कार्यलाई तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले निर्देशन दिएपछि गत शनिबार हेटौंडा र काठमाडौंबाट कामदार ल्याई पुनः काम तीव्र पारिएको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ५ हजार क्षमताको सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य दुई वर्षअघिबाट शुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाँको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मा नै सम्पन्न गर्ने गरी ०७४ चैत ६ मा सम्झौता भएता पनि यसको शिलन्यास बुद्धजयन्तीको अवसरमा पार्दा केहि महिनापछि (२०७५ बैशाख) सम्म धकेलिएको थियो । कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि आगामी असारसम्मका लागि अवधि थपिएको छ ।

‘यस वर्षको बुद्धजयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित बन्यो, पहिलो चरणको लागत पनि घटेको छ, लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राइले भने–‘फल्ससिलिङ लगायतका केहि निर्माण सामाग्री चीनबाट ल्याउनु पर्नेछ, ती सामाग्रीले रोकिने बाहेकको काम अब चाडै पूरा हुन्छ ।’ उनका अनुसार पहिलो चरणको निर्माण लागत करिब १० करोड घटेर २८ करोड १३ लाखमा झरेकोे छ । पहिलो चरणको ८५ प्रतिशत काम सकिएको पनि राईले जानकारी दिए । उनले भने–‘कोरियन प्रविधिबाट बनाउनु पर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने भएपनि ती कामदार नभएकाले काम रोकिएको थियो तर हेटाैंडा र काठमाडौंबाट कामदार ल्याएर अस्तिबाट पुनः काम सुरु गरेका छौँ ।’

छानो, वाथरुम, मार्वल हाल्ने लगायतका अलग अलग क्लष्टरमा गरेर कोभिड विरुद्धको स्वास्थ्य निर्देशिकाको पूर्ण पालनाका साथ करिव ६० जना कामदारले अहिले काम गरिरहेका छन् । पहिलो चरणको काम पूरा भएपछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम सुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलकोभित्रि साज सज्जा, वाहिर पानीको फोहोरा लगायतका काम दोस्रो चरणमा पर्छन् । सन् २०१६ को अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउँदा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि आवश्यक प्रकृया सुरु गरेर सभाहल निर्माण थालिएको हो ।

सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएपछि यो स्थल विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने बताइन्छ । हजाराैँ मानिस एकैचोटी ध्यान गर्न मिल्ने मात्र नभएर ठूला अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन गर्न पनि यो उपयुक्त हुने कोषका सदस्य सचिव राइले बताए । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एशियाकै नमुना सभाहल बनाउन लागेको हो ।

यसको डिजाईन शान्तिको प्रतीक (पोजेटिभ भाईब्रेशन) को चिनोको रुपमा बनाईएको छ । यसको अर्थ ‘ध्यानको बेला हामी अन्धाकार देख्दछौ र त्यसमा हामी उज्यालोको ज्योति खोज्दछौ’ भन्ने हो । यस अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ ईलिभेसन इलिप्टिकल आकारमा डिजाईन गरिएको छ । सो हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि एक वर्गमिटरको क्षेत्रफल राखिएको छ । जसमा एउटा ब्लकमा चार जना मानिस बस्ने व्यवस्था मिलाइएको छ । आवत जावतका लागि दुई मिटर चौडाई भएको ठाउँबाट भित्र–बाहिर गर्ने व्यवस्था मिलाईएको छ । भने फ्लोरमा सेतो रंगको माजाईक र चार ईन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ । सभाहलमा प्रवचन, भजन र भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रिन तथा पर्याप्त लाईटको व्यवस्था मिलाइएको छ ।

 

 

Logo