चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने

चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने


काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अर्थतन्त्रमा पारेको प्रभावले चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको बताए । सरकारले यस वर्षको बजेटमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर चैतपछि कोरोना नियन्त्रणको लागि लकडाउन गरिएपछि अर्थतन्त्रमा असर परेको र यसले आर्थिक वृद्धिदरमा गम्भिर असर पारेको अर्थमन्त्री खतिवडाले बताए । उनले यस अघिको तीन वर्षमा आर्थिक वृद्धिदर औसत ७ प्रतिशत भन्दा माथि रहेको समेत बताए ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ रुपैयाँ अर्थात् अमेरिकी डलरमा १ हजार ८५ पुग्ने अनुमान पनि सरकारले गरेको छ । कुल उपभोग र कुल गार्हस्थ बचत कुल गार्हस्थ उतपादनको अनुपातमा ८१ दशमलव ९ र १८ दशमलव १ प्रतिशत रहने अनुमान छ । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि चालिएको कदमबाट सार्वजनिक एवं निजी क्षेत्रमा आएको संकुचनले कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३ दशमलव ४ प्रतिशतले न्युन भई १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबीको जनसंख्या २०७६/०७७ मा करिब १६ दशमलव ६७ प्रतिशत रहेको छ । मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकुल भएका छन् । निकासिमा भएको वृद्धि र पैठारीमा भएको कमिका कारण व्यापार घाटामा सुधार भई सोधनान्तर स्थिति बचतमा रहेको छ ।

विगत केही वर्ष देखि मुद्रास्फिति १ दशकको औसत भन्दा तल रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को फागुनमा औसत मुद्रास्फिति उपभोक्ता मुद्रास्फिति दर ६ दशमालव ५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म कुल सरकारी खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलानामा १२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ६८ करोड पुगेको छ । चालु खर्च ४ खर्ब ५० अर्ब ७८ करोड, पूँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्था तर्फ ६३ अर्ब ४२ करोड खर्च भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को फागुन सम्ममा संघीय संचित कोष र विभाजित कोषमा जम्मा भएको राजस्व गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले वृद्धि भई ५ खर्ब ४६ अर्ब ८९ करोड रहेको छ । कर राजश्व ४ खर्ब ९७ अर्ब ५४ करोड अन्य राजस्व ४९ अर्ब २५ करोड रहेको छ ।

फागुन सम्ममा संघीय सरकारको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमालव ६ प्रतिशतले वृद्धि भई ४ खर्ब ७९ अर्ब पुगेको छ । वैदेशिक अनुदान १६ अर्ब १९ करोड र ऋण ९३ अर्ब ९ करोड गरी कुल १ खर्ब ९ अर्ब २८ करोड सहायता आएको छ ।

०७६ असारसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई फागुनसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको छ । आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र बाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड रहेको छ ।

वित्तीय कारोबारमा उल्लेख्य विस्तार भएको छ । ०७६ को असारमा ८ हजार ६ सय ८६ को संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ०७६ फागुनमा ९ हाजर ६ सय ४० पुगेको छ । ०७६ फागुन सम्ममा बीमामा पहुँच पुगेको जनसंख्या २२ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा जने कामदार सहित बीमा प्राप्त गर्ने जनसंख्या २६ प्रतिशत पुगेको छ ।

०७५ फागुन सम्म नेप्सेमा सुचिकृत हुने कम्पनीको संख्या २०५ रहेकोमा ०७६ फागुन सम्ममा २१२ पुगेको छ । ०७६ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ०७५ फागुन मसान्तको तुलनामा २४ दशमालव ७ प्रतिशतले वृद्धि भई १७ खर्ब ६० अर्ब ९३ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म कुल वस्तु निर्यात २२ दशमालव ३ प्रतिशतले बढेर ७४ अर्ब ९१ करोड पुगेको छ भने वस्तु आयात २ दशमलव ६ प्रतिशतले घटेर ९ खर्ब २४ अबए २४ करोड रहेको छ । वस्तु व्यापार घाटा ४ दशमलव ३ प्रतिशतले संकुचन भएको छ । आर्थिक वर्ष २०७५/०७६ को फागुन सम्म ५८ अर्ब ९९ करोड घाटामा रहेको शोधानान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहको छ । चालु खातामा सुधार आई १ खर्ब २४ अर्ब ९३ करोड कायम भएको छ ।

विप्रेषण आप्रवाह १ दशमलव ८ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ४२ करोड पुगेको छ । गत वर्ष ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ थियो । विदेशी विनिमय संचिति ०७६ असारको १० खर्ब ३९ अर्ब बाट बढेर ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । १० महिनाको वस्तु आयात र ८ दशालव ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने क्षमता छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ०७५/०७६ मा सातै प्रदेशका ७५३ स्थानीय तहमा विभिन्न कार्यक्रमहरु सञ्चालन भई १ लाख ८८ हजार व्यक्तिहरुले औषत १२ दशमलव ४३ दिनको रोजागरी पाएका छन् । ०७६ साउन १ देखि लागु भएको योगदानमा आधारीत सामाजिक सुरक्षा योजनामा अहिलेसम्म ७४ जिल्लाका १२ हजार २ सय ८७ रोजगारदाता सुचिकृत भएका छन् भने १ लाख ५२ हजार योगदनकर्ता दर्ता भएका छन् । कोषमा कुल ७७ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ ।

चालु आर्थिक वर्षमा धान बालीको क्षेत्रफल २ दशमलव २ प्रतिशतले घटेको छ भने उत्पादन पनि १ दशमलव शुन्य ५ प्रतिशतले घटेको छ । उद्योग विभागबाट स्वीकृत वैदेशिक लगानी गत आर्थिक वर्षको तुलनामा १६५ दशमलव ४ प्रतिशतले बढेर २९ अर्ब ६७ करोड पुगेको छ भने लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको छ । फागुनसम्ममा उद्योगमा कुल २१ खर्ब १ अर्ब ४५ करोड लगानी रहेको छ भने ६ लाख १४ हजार ८ सय २७ जनाले रोजगारी पाएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ को फागुनसम्म मुलुकभर संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक १५ हजार २ सय ५४ किलोमिटर, खण्डास्मित ९ हजार २ सय ५१ किलोमिटर र कच्ची ९ हजार ८ सय ४२ किलोमिटर गरी कुल ३४ हजार ३ सय ४७ किलोमिटर सडक पुगेको छ । प्रदेश र स्थानीय तहबाट ६१ हजार ३ सय ९५ किलोमिटर सडक बनेको छ ।

राष्ट्रिय गौरबका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८६ प्रतिशत र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ५६ प्रतिशत सम्पन्न भएको छ । जयनगर-जनकपुर–बर्दिवास ७० किलोमिटर रेलमार्ग मध्ये फागुन सम्म ५६ किलोमिटर काम सम्पन्न भएको छ । ९० प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी पुगेको छ ।

२०७६ फागुनसम्म भूकम्पबाट क्षति भएका निजी आवास ६३ दशमलव ३ प्रतिशत, सार्वजनिक विद्यालय ७४ दशमलव १ प्रतिशत, पुरातात्विक सम्पदा ४३ दशालव ७ प्रतिशत, स्वास्थ्य संस्था ५५ दशमलव ९ प्रतिशत, सरकारी भवन ८४ दशमलव १ प्रतिशत र सुरक्षा निकायमा भवन ५० दशमलव ७ प्रतिशत पुनर्निर्माण भएको छ ।

Logo