भारतको सीमा अतिक्रमण विरुद्ध जुर्मुराए नेपाली कलाकार, कसले के भने ?

भारतको सीमा अतिक्रमण विरुद्ध जुर्मुराए नेपाली कलाकार, कसले के भने ?


काठमाडौं । भारतले केही समय अघि नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर जाने सडक निर्माण गरेसँगै नेपालमा यो विषयले ठूलो रुप लिएको छ । भारतीयपक्षले नेपाली भूमिमा एकतर्फी बाटो निर्माण गरेको भन्दै नेपालले आपत्ति जनाउदै आएको छ । तर भारतीय पक्षले आफ्नै भूमिमा बाटो बनाएको दावी गर्दै आएको छ ।

यस विषयमा नेपाल सरकारले असन्तुिष्ट जनाउँदै कुटनीतिक वार्ताका लागि निरन्तर ताकेता गर्दै आएपनि भारतीय पक्षले वेवास्ता गर्दै आएको छ । भारतीय पक्षको वेवास्तालाई छोड्दै नेपाल सरकारले बुधवार लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरी नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । यति मात्र नभएर प्रधानमन्त्री के.पी. शर्मा ओलीले तीन वर्षभित्र नक्सामा मात्र नभइ भूमि नै फिर्ता ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सन् १८१६ मार्च ४ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिका आधारमा आफ्नो भूमि सहितको नक्सा सार्वजनिक गरेको भन्दै नेपालीहरुले सरकारको खुलेर स्वागत गरेका छन् । तर, उता भारतीय मिडिया भने नेपालमाथि खनिएका छन् । नेपालमाथि तथानाम टिका–टिप्पणी गरिरहेका छन् । यसरी भारतीय पक्षले आम नेपालीलाई तथानाम बोल्न थालेपछि नेपाली पक्षले पनि खुलेरै भारतीय पक्षको टिप्पणी गरेका छन् । नेपालका सर्वसाधारण, नेता, निर्देशक र कलाकारहरुले पनि यसप्रति कडा आपत्ति जनाउँदै आ–आफ्नो धारणा राख्न थालेका छन् । जसमध्ये केही टिप्पाणी यहाँ उल्लेख गरिएको छ ।
१. मनिषा कोईराला
सरकारले जारी गरेको नयाँ नक्साप्रति ऐक्यबद्धता जनाउँदै बलिउडमा जमेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले सरकारलाई खुलेर धन्यवाद दिएकी थिइन् । उनले लेखेकी थिइन्–‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरु बीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ ।’ उनी यस निर्णयको समर्थन गर्ने पहिलो अभिनेत्री हुन् । तर, जुन कुरा भारतीय मिडियालाई आँखाको तारो झैं भयो । मनिषालाई भारतकी अभिनेत्री भएर पनि नेपाललाई समर्थन गरेको भन्दै भारतीय मिडियाले मसालेदार समाचारहरु बनाउन शुरु गरेका छन् ।

कतिले मनिषालाई गालीसमेत गरेका छन् । मनिषामाथि भारतको नुन खाएर चीनको गुणगान गाएको आरोप समेत लगाइएको छ । कतिपयले उनको फिल्म बहिस्कार गर्नुपर्नेदेखि देश निकाला गर्नुपर्ने लेखेका छन् । अभिनेत्री मनिषा कोइरालाले आफू विरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई जवाफमा भनेकी छिन्–‘भारतलाई मैलै आफ्नो कला बेचेकी हुँ । मेरो देश होइन ।’  यसरी मनिषामाथि गाली बर्सिएपछि नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरु भारत विरुद्ध बोल्न शुरु गरेका छन् ।

२. राजेश हमाल
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललले लिम्पियाधुरा र कालापानीबारे आफ्नो धारणा फेसबुकमार्फत् व्यक्त गरेका छन् । जसमा उनी आफू राजनीतिमा त्यति रुची भएको व्यक्ति नभएको बताएका छन् । तर, कलेजमा शिक्षकले भनेको कुरा आफूलाई राम्रोसँग याद भएको उल्लेख गर्दै उनले भनेका छन्– ‘जब तिमी कुनै राज्यमा बस्छौं । तिमी राजनीतिबाट टाढा त बस्न सक्छौं तर राजनीति तिमीबाट टाढा बस्न सक्दैन ।’ उनले आफ्नो यति लामो वर्षसम्मको अनुभवले पनि यस्तै सिकाएको उल्लेख गरेका छन् ।

उनी यो विषय राजनीतिभन्दा पनि माथिको विषय भएको बताउँछन् । यसले हामी सबैमाथि प्रभाव पारेको छ । यसले जुनसुकै समुदाय, जाती, वर्ग, राजनीतिक विचार भएकाहरुको भावनामाथि प्रहार गरेको छ । धेरैजसो नेपालीले आफ्नो गौरवमाथि गम्भीर आघात पुगेको अनुभव गरेका छन् । एक स्वतन्त्र, सार्वभौम राष्ट्रको नागरिक हुनुको एउटा बलियो आधारमा हलचल भएको छ ।

नेपाल एउटा यस्तो देश हो जसलाई हाम्रा पुर्खाहरुले सबै पृष्ठभूमि, जाती, धर्मका आकार दिएका छन् । तसर्थ, यो नेपालको भूमि हो, जसलाई यो राष्ट्रका जनताले कुनै पनि परिस्थितिमा सम्झौता गर्न तयार हुदैनन् । उनले भनेका छन्–‘जे नेपालको हो, त्यहि मात्र फिर्ता मागेका हौँ, बढी होइन घटी पनि मान्य छैन ।’

३. प्रमोद खरेल
भारतीय मिडियाहरुले मनिषा कोइरालालाई विवादित बनाएपछि गायक प्रमोद खरेलले भारत तथा भारतीय मिडिया विरुद्ध आक्रोस पोखेका छन् । उनले लेखेका छन्–‘धेरै भारतीयहरु विश्वभरी काम गरिरहेका छन् । तर के उनीहरुले कहिल्यै भारतलाई समर्थन गर्न छोडेका छन् ? छैन । त्यसैगरी मनिषा कोइराला भारतमा काम गर्छिन् । यसको मतलब यो होइन कि उनले आफ्नो राष्ट्रियता बिर्सिनु पर्छ । नबिर्स कि उनी नेपालको प्रसिद्ध राजनीतिक परिवारकी सदस्य हुन् भनेर । एबिपि न्यूज आगोमा घिउ थप्ने काम नगर ।’

४. ऋचा शर्मा
अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमा मनिषा कोइरालाको पक्षमा बोल्दै भारतीय विरुद्ध स्टाटस लेखेकी छिन्–‘चाहे १९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’, मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयौ कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छिन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।

प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय–समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरी रहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन ।  भारतीय मिडियाहरु समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।

५. दिपेन्द्र के खनाल
निर्देशक दिपेन्द्र के खनालले जी न्यूजको समाचारको स्क्रिनसट सेयर गर्दै भारतीय मिडिया र भारतीयप्रति आपत्ति जनाएका छन् । दिपेन्द्रले आफ्नो फेसबुकमा लेखेका छन्–‘मेरो रगत देशको लागि काम लागे जीवन धन्य हुने थियो ।’

६. श्वेता खड्का
अभिनेत्री तथा समाजसेवी श्वेता खड्काले पनि सरकारको यस कदमको तारिफ गर्दै भारतीय विरुद्ध बोलेकी छिन् । उनले सामाजिक संजालमा निकै भावुक लामो स्टाटस लेखेकी छिन् ।  हामीले ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफलसहितको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर राष्ट्रिय नक्सा प्राप्त गरेका छौँ । हामीले खपत गर्ने दैनिक उपभोग्य सामाग्रीमध्ये ७० प्रतिशत सामाग्री भारतीय बजारबाट आयात हुने भएकोले भारतले हाम्रो आँट, शाहस र हिम्मतलाई टुटाउन ०७२ सालको भुकम्पको घडीमा लगाएको ‘नाकाबन्दी’ को फेरि घोषणा नगर्ला भन्न सकिन्न ।

भारतीय मिडियाहरुले नेपाल र नेपालीहरुको स्वाधिनतामाथि तल्लो श्रेणीको टिप्पणीहरु गरिरहेका छन् । यि यस्ता टिप्पणीहरुले म भित्र आक्रोशको रक्तसंचार भइरहेको छ । तर, भगवान गौतम बुद्धको धर्तीमा जन्मिएकी म नेपाली चेलीले संवाद, शान्ति र सौहाद्र व्यवहारमा विश्वास गर्ने गरेकी छु । मलाई थाहा छ, बम र बारुदको बिस्फोटनले गरेको युद्ध भन्दा मन र मस्तिस्कको समिश्रणले लडेको युद्ध सफल हुन्छ । हामी सबैले स्वंयमित हुँदै हाम्रो राष्ट्रिय स्वाधिनतालाई जोगाउनु छ । हामीले हाम्रो भावी पुस्तालाई च्यात्तिएको नेपाल होइन, सग्लो नेपाल दिनुछ । अँधुरो, अपुरो र अर्धकल्चो नेपाल होइन सिङ्गो नेपाल दिनुछ । लोलाएको, सेलाएको र झोक्राएको नेपाल होइन कलकलाएको, फुलेको र फलेको नेपाल दिनुछ । तसर्थ सम्पूर्ण नेपाली जागौँ । धिक्कार, भारतीय राष्ट्रवाद ।’

७. दिपक राज गिरी
हास्यकलाकार तथा निर्माता दिपक राज गिरीले पनि एक भिडियोमार्फत व्यङ्यात्मक शैलीमा भारत विरुद्ध अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्–‘म जुन अफिसमा २० वर्ष देखि काम गर्दै आएछु, म आफ्नो मालिकलाई बोस भन्छु बाउ होइन ।’

८. बर्षा राउत
भारतीय मिडियाले मनिषा कोईरालाका साथै नेपालीलाई गरेको आक्रमण र अपमानको विरोध गर्दै अभिनेत्री बर्षा राउतले स्टाटस लेखेकी छिन् । ‘पसिना बेच्न सकिन्छ, आमा होईन ! मनिषा कोईराला दिदिले आफ्नो आमामाथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृभूमीको सम्मानमा उभिनु भयो । आज भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली कलाकर्मीले विरोध गर्न जरुरी छ र मनिषा दिदिको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृभूमि र हाम्रो स्वाभिमानप्रतिको हस्तक्षेप कदापी स्वीकार्य छैन ।’

९. इन्दिरा जोशी
गायिका इन्दिरा जोशीले मनिषा कोइरालामाथि खनिएका भारतीय मिडियाहरु र भारतीय विरुद्ध इन्स्टाग्राममा एक स्टाटस लेख्दै भनेकी छिन्– ‘मनिषाले आफ्नो अद्भूत अभिनय, मेहनत र क्षमताका कारण बलिउडमा थुप्रै योगदान दिएकी छिन् । उनी आफ्नो देशको पक्षमा बोलेर सही समयमा उचित कदम चाल्ने एक साहसी नारी हुन् ।’

१०. पूजा शर्मा
अभिनेत्री पूजा शर्माले पनि भारतीय मिडिया विरुद्ध लेखेकी छिन्–‘भारतीय जनताको मन जित्न सफल नायिका मनिषा कोईरालाले नेपालको जमिन हो भन्दै नेपालको पक्ष लिइन के साच्चै लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो त ? खास तथ्य सत्य के हो भनेर इतिहास केलायर समाचार बनाउने र खोजी गर्ने त्यति ठूलो देश भारत भरिनै कुनै मिडिया नै रहेनछ दुःख लाग्यो । मनिषा दिदिको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टिठ लागेर आयो । नेपालीहरु काम र कर्मको सिलसिलामा संसारभर होलान तर जब देश र आफ्नो जन्मभूमिको कुरा हुन्छ त्यति बेला देशकै पक्षमा बोलिन्छ जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया ।’

११ केकी अधिकारी
भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसँगको निर्भरता र अन्तर्राष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि उठछ, हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ । सीमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौैँ । हामीसँग स्पष्ट प्रमाणहरु छन् । हामीले आफ्नै भूमिको विषयमा कसैसँग बहस गर्न आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाणसहित वार्ता गर्न तयार छौँ । हामी आफ्नो जमिन चाहन्छौँ । अरुकोमा ¥र्याल काड्दैनौँ ।

हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागि कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाममा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पु¥याउने व्यवहारले परिचित छैनौँ भन्ने नभुलौँ । हामी बदलामा हैन बलिदानमा विश्वास राख्छौँ । हामी वैमनस्यतामा हैन विचारमा विश्वास राख्छौँ । हामी छिमेकीको जमिन हडप्नमा हैन , छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा स–सम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा विश्वास राख्छौँ । भूगोलले सानो भएपनी नेपालीको मन ठूल्ठूला देशभन्दा पनि विशाल छ । नेपाली हो नि । उनले समाजिक संजालमा लेखेकी छिन् ।

त्यस्तैगरी चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले भारतले मिचेको नेपाली भूभाग फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका छन् ।
नेपाल भारत सीमा विवाद भइ रहेको अवस्थामा उनीहरुले ‘हाम्रो माटो’ बोलको देश भक्तिले भरिएको गीत पनि सार्वजनिक गरेका छन् । कोरोना महामारीको बेलामा समेत भारतले नेपाली भूमि मिच्दै सडक निर्माण गरेर नेपालीमाथि गरेको प्रहारलाई गीतमार्फत पोखिएकाे छ ।

Logo