बैंकमा कोरोना असर : निक्षेप र कर्जा दुवै प्रभावित

बैंकमा कोरोना असर : निक्षेप र कर्जा दुवै प्रभावित


काठमाडौं ।
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर नेपाली बैंकिङ क्षेत्रमा पनि देखिन थालेको छ । कोरोना भाइरसको संक्रमणका कारण बैंकहरुको निक्षेप संकलनसँगै नयाँ कर्जा प्रवाहसमेत प्रभावित भएको छ । कोरोना भाइरसले अन्य क्षेत्रमा पूर्ण रुपले असर गर्दा वित्तीय प्रणालीमा खासै असर नगर्ने राष्ट्र बैंकको अध्ययनले देखाएको थियो ।

तर कम जोखिमपूर्ण भनेको क्षेत्रमा पनि अहिले असर देखिन थालेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाख महिनामा बैंकिङ्ग प्रणालीमा ३० करोड रुपैँयाँ निक्षेप बढेको छ भने १ करोड रुपैयाँ बराबर कर्जा लगानी खुम्चिएको छ । संघका तथ्यांक अनुसार निक्षेप केही मात्रामा बढेको देखिए पनि चैत महिनाको तुलनामा बैंशाखमा निक्षेप घटेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै बैशाख लागेपछि निक्षेप संकलन प्रभावित भएको छ । संघको तथ्यांक अनुसार गत चैतको तुलनामा बैशाखमा कर्जा लगानी १६ अर्ब रुपैयाँले घटेको देखिएको छ । कोरोनाको संक्रमणसँगै सबै उद्योग व्यवसाय तथा निर्माण लगायतका क्षेत्र ठप्प छन् । जसका कारण नयाँ कर्जा प्रवाह हुन सकिरहेको छैन ।

‘अहिले नयाँ कर्जा गइरहेको छैन, त्यसैले घटेको देखिएको छ ।’ संघका अध्यक्ष भूवन दाहालले भने । कतिपय अवस्थामा बैंकले लगानी गरेको कर्जा पनि उठाउन नसक्दा बैंकहरुको तेस्रो त्रैमासमा खराव कर्जा पनि बढेको देखिएको छ । यसको असर चौथो त्रैमासमा अझै बढ्ने अध्यक्ष दाहालको भनाइ छ ।

संघका अनुसार वाणिज्य बैंकहरुले चैतमा ४९ करोड रुपैयाँ निक्षेप संकलन वृद्धि गरेका थिए भने ४२ करोड रुपैयाँले कर्वा लगानी बढाएका थिए । त्यसैगरी, बैशाखको पहिलो साता ११ करोड रुपैंयाँले बढेको निक्षेप संकलन दोस्रो साता ३ अर्बले घटेर ८ करोड रुपैयाँ कायम भएको छ । बैंशाख तेस्रो साता ९ करोड रुपैयाँले बढेको निक्षेप जेठ पहिलो सातासम्म आइपुग्दा ५ करोड रुपैयाँमा झरेको छ ।

त्यसैगरी, बैशाख पहिलो साता २७ वटा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ करोड रुपैंयाँले घटेको देखिएको छ । दोस्रो साता १ करोड, तेस्रो साता ४ करोड तथा जेठ पहिलो साता आइपुग्दा ७ करोड रुपैयाँले घटेको देखिएको छ । कोरोना भाइरसका कारण चैत ११ गतेदेखि मुलुक लकडाउनको अवस्थामा छ । लकडाउनका बेला सबै उद्योग व्यवसाय, पर्यटन निर्माण लगायतका विभिन्न क्षेत्र प्रभावित भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप तथा कर्जा प्रभावित भएको हो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले लकडाउनका कारण आर्थिक गतिवधी नहुँदा बैंकको निक्षेप तथा कर्जा प्रभावित भएको बताए । प्रमुख कार्यकारी अधिकृत अधिकारी संघका सदस्य समेत हुन् ।

Logo