अब राष्ट्र बैंक प्रवेश गर्ने सेवाग्राहीले अनिवार्यरुपमा व्यक्तिगत विवरण पेश गर्नु पर्ने

अब राष्ट्र बैंक प्रवेश गर्ने सेवाग्राहीले अनिवार्यरुपमा व्यक्तिगत विवरण पेश गर्नु पर्ने


काठमाडौं ।

अबदेखि राष्ट्र बैंक जाने सेवाग्राहीले कार्यालयको प्रवेशद्वारमा व्यक्तिगत विवरण पेश गर्नु पर्ने भएको छ । अब कार्यालय प्रवेश गर्ने प्रत्येक सेवाग्राहीको व्यक्तिगत विवरण, हालको ठेगाना तथा सम्पर्क नम्बरसहितको विवरण कार्यालय प्रवेशद्वारमा रहेको रजिष्टरमा उल्लेख गर्नु पर्नेछ ।

राष्ट्र बैंकले सेवा सञ्चालन मार्ग दर्शन ०७७ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । त्यसैगरी, कर्मचारीहरुले आफूसँग भेट हुने सेवाग्राहीको नम्बर तथा मिति नोट गरी दैनिक भेटघाट डायरीमा राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकका अनुसार प्रत्येक काउण्टर र ग्राहकहरुसँग सम्पर्क हुने अन्य स्थानमा रेखाङ्कन क्यु आर कोडको व्यवस्थापन गर्नु पर्नेछ । बैंकहरुले अब ग्राहकबाट प्राप्त नगदलाई शुरुमा शिलबन्दी बाक्सामा बुझिलिएर केही दिनपछि किटाणुरहित गरेर मात्र गणना गरी बुझ्ने व्यवस्था गर्नुपर्ने जनाएको छ ।

अब प्रत्येक बैंकले कोरोना भाइरस सेफ्टी म्यानेजमेन्ट टिम गठन गरी सो टिमको निर्देशनमा बैंक कार्यालयको सुरक्षा र सञ्चालन गर्नु पर्ने भएको छ । त्यस्तै, लकडाउनको अवधिमा बैंकिङ कार्यालय, मुद्रा विभाग तथा प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनु पर्ने सो मार्गदर्शनमा उल्लेख छ ।

त्यसैगरी, कार्यालयमा खटाइने कर्मचारीलाई ६/६ दिनको रुटिङ मिलाउनु पर्ने र कार्यालयमा अनिवार्य रुपमा मास्क, पन्जाको प्रयोग गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

बढीमा एक तिहाई कर्मचारीबाट न्यूनतम भौतिक दुरी कायम गरी सबै विभाग, कार्यायल महाशाखा, इकाईको कार्यलाई निरन्तरता दिनु पर्नेछ । बाँकी कर्मचारीलाई घरमा नै बसेर काम गर्ने वर्क फ्रम होमलाई निरन्तरता दिँदै घरबाट काम गर्ने कर्मचारीलाई सम्बन्धीत महाशाखा र इकाईले निर्देशन र कामको अनुगमन गर्नु पर्ने सो मार्गदर्शनमा उल्लेख गरिएको छ । त्यस्तै सो मार्गदर्शनमा बैंकले इन्फ्रारेड थर्मोमिटरबाट कर्मचारी र सबै सेवाग्राहीको तापक्रम नाप्ने व्यवस्था मिलाउनु पर्नेछ ।

Logo