सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेन निजी क्षेत्र : व्यावसायीहरु असन्तुष्ट

सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेन निजी क्षेत्र : व्यावसायीहरु असन्तुष्ट


काठमाडौं ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई सम्बोधन गर्न नसकेको भन्दै व्यावसायीहरु असन्तुष्ट बनेका छन् ।

अधिकांश पुरानै कार्यक्रमहरु भएको र ती कार्यक्रममा पनि निजी क्षेत्रलाई नसमेटिएको भन्दै व्यावसायीहरु रुष्ट बनेका हुन् । सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । सरकारले यस पटकको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि लगायत आर्थिक पुर्नउत्थानलाई प्राथमिकतामा राखेको छ । तर नीजि क्षेत्र (उद्योग व्यावसाय) को विषयमा कुनै पनि कुरा उल्लेख नगर्नु अन्याय भएको व्यावसायीको भनाइ छ । कोरोनाका कारण उद्योग व्यावसायमा यतिका क्षति भएको र व्यावसायीहरुले राहतका लागि पटक पटक सरकारसँग माग गर्दा पनि सरकारले राहत प्याकेजका विषयमा कुनै सम्बोधन नगरेपछि व्यावसायीहरु रुष्ट बनेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भनिन् , ‘हामीले मागेको राहत प्याकेज नै नल्याउँदा अचम्म लाग्यो ।’ सुन्दा राम्रो लागे पनि वास्तवमा उद्योग क्षेत्रका लागि कुनै सम्बोधन नगरेको उनको भनाइ थियो । ‘सरकारको नीति तथा कार्यक्रम कानलाई मात्रै राम्रो छ ।’ अध्यक्ष राणाले भनिन् ।

त्यसैगरी, उद्योग परिसंघले पनि सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टी व्यक्त गरेको छ । निजी क्षेत्रलाई अघि बढाउन आर्थिक पुर्नउत्थान कार्यक्रम घोषणा गर्नु महत्वपूर्ण भएपनि आर्थिक पुर्नउत्थान र राहतका कार्यक्रम नआएको भन्दै असन्तुष्टी व्यक्त गरेको छ । परिसंघले प्रेस विज्ञप्ती नै जारी गरी असन्तुष्टी व्यक्त गरेको हो । ‘अल्पकालिन राहत तथा पुर्नउत्थानका लागि कुल ग्राहस्थ कम्तीमा ५ प्रतिशत र विशेष प्रभावित क्षेत्रसँग हस्तान्तरणको व्यवस्था मिलाई अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने सबै नीजि क्षेत्रको सुझाव थियो । तर यसमा पनि पर्याप्त ध्यान दिएको देखिएन ।’ परिसंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत कसैको पनि रोजगारी नजाओस् भन्ने गरी ल्याइनु पर्थ्यो । सरकारले रोजगारी सिर्जना गर्ने कुरा गरेको छ । तर त्यहि रोजगारी सिर्जना गर्ने उद्योगका लागि कुनै सम्बोधन नगरिनु दुःखद भएको अटोमोबाइल एसोशिएशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । कृषि तथा उत्पादन बढाउने भन्ने लगायतका विषय आएपनि निजी क्षेत्रका लागि केहि नआएको भन्दै उनले असन्तुष्टी पोखे । ‘सरकारको कार्यक्रम निजी क्षेत्रका लागि खासै सपोर्ट गर्ने खालको छैन ।’ अध्यक्ष दुलालले भने । भविष्यमा रोजगारी सिर्जना गर्ने कुरा भन्दा पनि भएका रोजगारी कसरी बचाउने भन्ने खालका कार्यक्रमहरु आउनु पर्नेमा सरकारले नयाँ रोजगारी ल्याउने विषयमा मात्रै बोलेको व्यावसायीहरुको भनाइ छ । रोजगारी सिर्जना गर्ने भनेको निजी क्षेत्रले नै हो । तर यसै क्षेत्रलाई वेवास्ता गरिएको प्रति व्यावसायी असन्तुष्ट छन् ।

Logo