नेपालमै कोरोनाको औषधि बनाएको दावी

नेपालमै कोरोनाको औषधि बनाएको दावी


हेटौंडा ।
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मुल गर्ने औषधि तयार गरेको दावी गरेका छन् ।  प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दावी गरेका हुन् ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेस्ट्ररीमा पिएचडी उपाधि हासिल गरेका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी दिए ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गरेका छन् । उनले कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको बताए ।

यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उनले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिएका छन् । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दावीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास वाग्मती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुन् ।-रासस

Logo