काठमाडौंमा भाटभटेनीका ६ आउटलेट खुल्ला

काठमाडौंमा भाटभटेनीका ६ आउटलेट खुल्ला


काठमाडौं ।

भाटभटेनी सुपरस्टोरको नामबाट देशमै सबैभन्दा ठूलो रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी समूहले लकडाउनकै अवधिमा पनि राजधानी उपत्यकाका विभिन्न ६ वटा आउटलेट खोल्ने भएको छ ।

गुणस्तरीय दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि उपत्यकाभित्रका ६ वटा स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपरस्टोरका चिफ अपरेटिब अफिसर पानु पौडेलले जानकारी दिए । भाटभटेनी ग्रुपले कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेको हो । ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् ।

भाटभटेनी समूहले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा पनि भाटभटेनी सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गरेको छ । उपत्यकाबाहिरका आउटलेट पनि खुला रहनेछन् ।

प्राणघातक रोग कोभिड–१९ निम्त्याउने कोरोना भाइरस संक्रमणको त्रासले मुलुक लकडाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब खोलेरै सेवा दिन लागेको हो । उल्लेखित आउटलेटहरु बिहान १० बजेदेखि साँझ ७ बजेसम्म स्टोर खुल्नेछन् । कोरोना संक्रमण रोकथामका लागि पर्याप्त सावधानी अपनाएर आउटलेट सञ्चालन गरिने छ ।

एकपटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सामाजिक दूरी कायम गर्ने नीति लिइएको छ । लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो,’ पौडेलले भने ।

Logo