आक्रमक बन्दै डिजिटल पेमेन्ट : ‘आइएमई पे’ ले ४ गुणा कारोबार बढायो

आक्रमक बन्दै डिजिटल पेमेन्ट : ‘आइएमई पे’ ले ४ गुणा कारोबार बढायो


काठमाडौं ।
पछिल्लो समय बजारमा विद्युतीय पर्स (डिजिटल वालेट) सेवाको प्रतिस्पर्धा चर्काे रुपमा चलेको छ ।

सेवाप्रदायक कम्पनीहरुले डिजिटल भुक्तानीलाई फरक–फरक सुविधासहित बजार विस्तार गरिरहेका छन् । डिजिटल सेवा प्रदायक कम्पनीहरुका एप्सको माध्यमबाट सिनेमा घरको टिकट खरिद गर्न, बिजुलीको बिल तिर्न पानीको बिल तिर्न, हवाई जहाजको टिकट, बस, केवलकारको बिल टिकट लिन, इन्धनको पैसा तिर्न तथा अन्य दैनिक उपभोग्य सामानको पैसा तिर्न मोबाइलबाटै मिल्छ । त्यसैगरी, ठूला सपिङमलदेखि साना खुद्रा पसलमा सपिङ गर्दा पनि डिजिटल भुक्तानीमार्फत गर्न सकिन्छ । यद्यपि डिजिटल भुक्तानी नगद कारोबार भन्दा झन्झटिलो प्रक्रिया हो । तर पनि डिजिटल सेवा प्रदायक कम्पनीहरुले आक्रमक रुपमा सेवा विस्तार गरिरहेका छन् । सरकारले गत चैत्र ११ देखि मुलुककै भरी लकडाउन गरेको छ । यस्तो अवस्थामा डिजिटल भुक्तानी प्रदायक कम्पनीहरुले थप आक्रमक रुपमा सेवा दिइरहेका छन् । त्यसका साथै पहिलेको तुलनामा लकडाउनको अवधीमा यी कम्पनीहरुले आफ्नो कारोबार पनि वृद्धि गरेका छन् ।

ई–सेवा, आईएमई पे, प्रभु पे, खल्ती लगायतका विभिन्न सेवा प्रदायक कम्पनीहरुको सेवा लिन स्मार्टफोन प्रयोगकर्ताले एप्लिकेसन डाउनलोड गरेर यो सञ्जालमा खाता खोल्न सक्छन् । डिजिटल भुक्तानी प्रदायक कम्पनीहरुमा आएमई पे ले लकडाउनको समयमा सेवा तिब्ररुपले विस्तार गरेको छ । आइएमइ डिजिटल सलुशनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास नहाटाले लकडाउनको समयमा ४ गुणाले कारोबार बढेको बताए । आइएमई पेको माध्यमबाट बैंकमा खाता नभएपनि मोबाइल एप्सको प्रयोग गरी नेपाल भरी पैसा पठाउन सकिने सिइओ नहाटाले बताए । त्यसैगरी, आइएमई पेबाट रेमिट्यान्स पनि एजेन्टको मा नगइकन आफ्नो खातामा तान्न सकिन्छ । लकडाउनको समयमा मोबाइल रिचार्ज, इन्टरनेटको बिल तिर्ने तथा रेमिट्यान्स भित्र्याउने काममा मुख्य समस्या देखिएको सिइओ नहाटाले बताए । त्यसकै लागि आइएमई पे ले मुख्यरुपमा काम गरिरहेको उनले बताए । यी सेवामा ग्राहकलाई हदैसम्म सहुलियत पनि दिइएको छ । डिजिटल कारोबार गर्न सजिलो तथा अनुभव होस् भनेर नयाँ ग्राहकलाई आइएमइ पेले एक/दुई वटा कारोबार समेत निःशुल्क गर्ने गरेको छ । अहिले मोबाइल मार्फत गरिने कारोबारमा २ प्रतिशत क्यासब्याक गरेको अवस्था छ तर आइएमई पेले ५ प्रतिशतसम्म क्यासब्याक दिइरहेको छ । आइएमईका ७७ वटै जिल्लामा २५ हजार सक्रिय एजेन्ट रहेका छन् ।

त्यसैगरी, एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ ले पनि आक्रमक रुपमा सेवा विस्तार गरेको छ । यो कम्पनी ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु भएको यो सेवा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने यो सेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर सेवा दिइरहेको छ । एक दशकको अवधिमा ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ३० लाखको हाराहारमिा पुगेको छ । त्यस्तै, ई–सेवाले मुलुकभरी झण्डै ८० हजार एजेन्ट मार्फत सेवा दिँदै आएको छ ।

ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

त्यसैगरी, सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ । ग्राहकहरुले अब सजिलै सेलपे मोबाइल वा वेब एप्लिकेशन प्रयोग गरी सहज रुपमा सेल पेसँग आबद्ध भएका बिभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेष्टमेन्ट कम्पनीका इएमआई भुक्तानी गर्नुका साथै ग्राहकले आफूले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनीट्रान्स्फरको नेपाल भरीका आफूलाई पायक पर्ने जुनसुकै रेमिट्यान्स एजेन्टबाट प्राप्त गर्न सक्नेछन् । हाल विश्वभरी फैलिदै गरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारबाट सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको छ । यस्तो बेलामा सेल पे ले यी थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नका साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउने विश्वास लिएको छ । सेलपेका ग्राहकहरुले यस्ता थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेल पे एप्पमा गई हालै नयाँ थपिएका आइकन इएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेल पेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुप रकम भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै देशभित्र कुनै पनि ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनीट्रान्सफर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसके पछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा यूनिक आइडी प्राप्त गर्नेछन् र त्यस यूनिक आइडी प्रेषकले प्रापकलाई दिनुपर्नेछ र प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त यूनिक आइडी देखाएर सरल रुपमा पैसा प्राप्त गर्न सक्नेछन् । सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । त्यसैगरी, प्रभु पे, खल्ती लगायतका भुक्तानी सेवा प्रदायक कम्पनीहरुले तिब्र रुपमा कारोबार विस्तार गर्दै आएका छन् ।

के हो अबको बाटो ?
नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्न अन्तर्गत विद्युतीय भुक्तानी प्रणालीको विकासलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै मोबाइल तथा इन्टरनेटमार्फत भुक्तानी सेवा विस्तार गरी मुलुकका दुर्गम स्थानमा वित्तीय पहुँच पु¥याउन भुक्तानी सेवाप्रदायक कम्पनीहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ । मुलुकलाई तत्काल क्यासलेस बनाउन सम्भव नभएपनि डिजिटल कारोबारको विकल्प नभएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । ‘हामीले सकेसम्म डिजिटल कारोबारलाई प्रोत्साहन गर्न खोजेका छौँ ।’ प्रवक्ता भट्टले भने ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बजारमा ५ खर्ब ३८ अर्ब रुपैँयाँ कागजी नोट रहेको छ । क्यासको कारोबारबाट जनता खासै माथि उठ्न नसकेपछि आगामी दिनहरुमा डिजिटल कारोबार अपरिहार्य भएको प्रवक्ता भट्टको भनाई थियो । त्यसैगरी, पछिल्लो समय डिजिटल कारोबार अपरिहार्य भएको वैकिङ विज्ञ अनलराज भट्राइृले बताए । मुलुकमा लकडाउन सुरु भएपछि बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारको शुल्क घटाएका छन् भने आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट) मार्फत हुने कारोबार पनि निःशुल्क गरिएको छ ।

Logo