इतिहासको कठघरामा अमेरिकी नेतृत्व

इतिहासको कठघरामा अमेरिकी नेतृत्व


महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ लाई दिंदै आएको आर्थिक सहायता रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा ‘डब्लुएचओ’ लाई दिंदै आएको आर्थिक सहयोग ह्वाइट हाउसले रोक्ने भएको हो ।

राष्ट्रपति ट्रम्पको यो निर्णय इतिहासको यस्तो कठिन मोडमा आएको छ, जहाँ विश्व कोरोना भाइरस अर्थात कोभिड १९ सँग जुध्न संघर्षरत छ । र, यो रोगविरुद्ध लड्न दिनरात नभनि लागिरहेको एउटा प्रमुख संस्थालाई दिइदै आएको रकम रोक्नु कुन हदसम्मको मुर्खता हो ?

कोरोना भाइरसले विश्वलाई नै तहसनहस बनाइरहेको यस्तो कठिन घडीमा सबैभन्दा शक्तिशली नेता ट्रम्पले किन यस्तो लहडी निर्णय गरे त ? यो कुरा बुझ्नु भन्दा पहिले ट्रम्प र उनको पृष्ठभूमिलाई बुझ्नु जरुरी छ ।

जुन समयमा अमेरिकी राजनीतिमा ट्रम्पको उदय हुँदै थियो, त्यो बेला विश्वको राजनीतिले अर्कै बाटो समाइसकेको थियो । अर्थात् , अनुदारवादी र संरक्षणवादको राजनीति । दक्षिण अमेरिकी मुलुक ब्राजिलदेखि यूरोपमा इटाली हुँदै दक्षिण एशियाली मुलुक भारतमा अनुदारवादी र संरक्षणवादी नेताहरुले सरकार चलाइरहेका थिए । हो, यस्तै समयमा हो बेलायत युरोपेली युनियनबाट छुट्टीएको ।

सन् २०१५/१६ तिर अमेरिकीहरु पनि यस्तै नेतृत्व चाहिरहेका थिए । गोरा अमेरिकीहरुको बुझाइमा बराक ओबामा अडान र निर्णय लिन सक्ने क्षमताको नेता भन्दा पनि कूटनीतिक निर्णयहरुमा बढी विश्वास गर्थे भन्ने थियो ।

त्यसो त अमेरिकी राजनैतिक इतिहास केलाउने हो भने डेमोक्रेटिक पार्टीको छवी रिपब्लिकन जस्तो यथार्थवादी होइन भन्ने बुझिन्छ । यस्तै यथार्थवादी नेतृत्वको पखाईमा अमेरिका थियो । र, त्यसको उडान भर्न आइपुगे न्यूयोर्क शहरका धनाड्य ब्यापारी डोनाल्ड ट्रम्प ।

पुरा गर्न नसकिने राजनैतिक वाचा, तर झट्ट सुन्दा निकै बेजोड लाग्ने नीतिहरु अघि सार्दै ट्रम्प अन्ततः ह्वाईट हाउस प्रवेश गरे । एकजना गैरराजनैतिक ब्यक्ति विश्वकै सबैभन्दा ठूलो प्रशासन चलाउन आउँदा कस्तो हविगत होला ? हो, अहिले त्यस्तै भएको छ, अमेरिकाको राजनीति र बाँकी विश्वको अवस्था ।

यसको प्रत्यक्ष साक्षी हामी बनिरहेका छौं । एउटा रोगका कारण यो पृथ्वीमै मानवजाती कै अस्तित्व संकटमा परिहेका बेला कुन चाहीं अमेरिकी राजनीतिक नेतृत्व होला जसले ‘डब्लुएचओ’ जस्तो स्वतन्त्र स्वास्थ्य संस्थालाई दिंदै आएको आर्थिक सहायता रोक्छ ।

त्यसैले अमेरिकाबाट विश्व चलाउने सबैभन्दा ठूलो प्रशासन ह्वाइट हाउस अहिले कसरी चलिरहेको छ भन्ने यसबाट छर्लङ्ग हुन्छ ।

विश्वभरी नै भाइरस संक्रमण फैलिरहे पछि यसविरुद्ध कदम चाल्ने सन्दर्भमा ‘डब्लुएचओ’ ले सामान्य दायित्व समेत पुरा नगरेको आरोप ट्रम्प प्रशासनको छ ।

त्यसो त गत डिसेम्बरमा चीनको वुहान शहरमा भाइरस देखिन थालेदेखि नै ट्रम्प प्रशासनले चीनतिर तारो सोझ्याउन थालेको थियो । चीनसँग ‘डब्लुएचओ’ मिलेको ट्रम्पको आरोप छ । किनभने, चीनको अन्तर्राष्ट्रिय छवि जोगाइदिन ‘डब्लुएचओ’ले ठूलो भूमिका खेलिरहेको ट्रम्पको बुझाई छ ।

त्यसो त ‘डब्लुएचओ’को नेतृत्व तहमा सन् २०१७ मा डा. टेड्रोस एडानोम चीनकै भोटमा पुगेका थिए । अफ्रिकामाथि निकै उदार रहने गरेको चीनले पहिलो पटक कुनै अफ्रिकीलाई ‘डब्लुएचओ’को नेतृत्व तहमा पुर्याएको थियो । अमेरिका यस्तो कठिन समयमा चीन र ‘डब्लुएचओ’सँग त्यही कुराको बदला लिइरहेको छ ।

चीनमा कोरोना भाइरस देखिएपछि ‘डब्लुएचओ’ले संक्रमण सम्बन्धि विषयलाई सही ढंगले ब्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको आरोप ट्रम्पले लगाएका छन् । त्यसैले ‘डब्लुएचओ’लाई जवाफदेही बनाउन उसलाई दिइरहेको आर्थिक सहायता रोकेको ट्रम्पको भनाइ छ ।

तर, कस्तो समयमा ?

अमेरिकाले ‘डब्लुएचओ’को कूल बजेटको करीब पन्ध्र प्रतिशत, अर्थात झण्डै ४० अर्ब रुपैंयाँ सहयोग गर्दै आइरहेको छ । धनी राष्ट्रहरुले सहयोग गर्ने यति ठूलो रकम ‘डब्लुएचओ’मार्फत अति कम विकसित र विकासशिल मुलुकहरुमा बढी खर्च हुन्छ । जस्तो कि  अफ्रिका र दक्षिण एशियाली मुलुकहरु । विश्वका यी क्षेत्रमा अति विपन्न वर्गको बसोबास बढी छ । विश्वको झण्डै तीन अर्ब जनसंख्या यो क्षेत्रमा बस्ने गर्छन् । ‘डब्लुएचओ’को मूख्य प्राथमिकता पनि यिनै क्षेत्रमा छ ।

तर, विडम्बना के भने अमेरिकाजस्तो शक्तिशाली मुलुकले विपन्न वर्गमाथि ‘डब्लुएचओ’ले खर्च गर्दै आइरहेको रकम कटौती गर्ने निर्णय गरेको छ ।

अमेरिकाले कोरोना भाइरसका माध्यमबाट भइरहेको विश्वब्यापी आर्थिक क्षतिलाई ‘डब्लुएचओ’ले रोक्न नसकेको आरोप पनि लगाएको छ । त्यसो नगरेर ’डब्लुएचओ’ चीनका कदमहरुको प्रतिरक्षामा लागिरहेको अमेरिकी बुझाइ छ । विश्लेषकहरुले यसलाई ट्रम्पको कमजोर विश्लेषण भनेका छन् । उनीहरुले सबै मिलेर कोरोना महामारीविरुद्ध केन्द्रित हुनुपर्ने बेलामा अमेरिकाले नै साथ छोड्नु इतिहासकै खराब राजनीतिक निर्णय भएको बताएका छन् ।

त्यसो त अमेरिका आफैं महामारीको केन्द्रविन्दुमा छ । त्यहाँ ६ लाख भन्दा बढी संक्रमित छन् भने करीब २६ हजार जनाले ज्यान गुमाइसकेका छन् । आफ्नै मुलुक यस्तो भयावह बन्दा समेत ट्रम्प केही नभएजस्तो गरि ‘डब्लुएचओ’लाई नै दण्डित गर्दै हिंडेका छन् ।

ट्रम्प आफैं यतिबेला आन्तरिक राजनीतिको दोबाटोमा उभिएका छन् । सही दिशा कुन हो भन्ने न त उनलाई थाहा भएको देखिन्छ, न त उनका सल्लाहकारलाई नै ।

किनभने, चार वर्षे पहिलो कार्यकाल सकिन अझै आठ महिना बाँकी रहँदा उनले ह्वाइट हाउसमा १७ जना सल्लाहकार नै परिवर्तन गरे । कहिले रक्षा त कहिले अर्थ । कहिले स्वास्थ्य त कहिले विदेश । कुनैपनि सल्लाहकार ६ महिनाभन्दा बढी टिकेको अवस्था छैन, ह्वाइट हाउसभित्र ।

तर, ट्रम्पका लागि अब समय घर्किदैछ । यदी विश्व सामान्य बन्दै गयो भने आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनेछ । सबैले अनुमान लगाउँदैछन्, ट्रम्पलाई दोस्रो कार्यकाल खान मुश्किल बन्दैछ । किनभने, यसै महिना सार्वजनिक भएको लोकप्रियताका आधारमा ट्रम्प दोस्रो नम्बरमा झरिसकेका छन् । पहिलो नम्बरमा विपक्षी डेमोक्रेटिक पार्टीको तर्फबाट उमेद्वार बनेका जो बाइडेन उक्लेका छन् ।

बाइडेन तिनै नेता हुन् जसले ओबामा सरकारमा उपराष्ट्रपतिको भूमिका सफलताकासाथ निर्वाह गरिसकेका छन् । तिनै बाइडेन जसले ओबामालाई अमेरिकी राजनैतिक इतिहासमै सबैभन्दा लोकप्रिय राष्ट्रपति बन्न उनको प्रशासनमा बसेर सहयोग गरेका थिए ।

Logo