लकडाउनको असर : फुर्सदिला बन्दै शिर्ष नेताहरु (को के गर्दै ?)

लकडाउनको असर : फुर्सदिला बन्दै शिर्ष नेताहरु (को के गर्दै ?)


  • सरोज बस्याल
    काठमाडौं ।

विश्वभर नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिएसँगै विभिन्न देशले आ–आफ्नै तरिकाले उच्च सतर्कता अपनाएका छन् । नेपालले पनि कोभिड–१९ को संक्रमण बढ्न थालेसँगै मंगलबारदेखि देशभर एकै साथ लकडाउन गरेको छ । छिमेकी देश चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १९९ देशमा फैलिइसकेको छ । नेपालमा पनि चार जनामा यसको संक्रमण देखिएको छ । संक्रमित चार जनामध्ये एक जना पूर्ण रुपमा निको भएर घर फर्कि सकेका छन् भने अन्य दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचार भइरहेको छ । त्यस्तै एक जनाको धनगढीमा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । देशैभर गरिएको लकडाउनले आम सर्वसाधारण, ज्यामी, मजदुरदेखि नेतासम्मलाई असर पारेको छ । प्रधानमन्त्रीदेखि शिर्ष नेताहरुले यसरी लकडाउनको समय व्यवस्थापन गरेका छन् ।

१. प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले लकडाउनको समयमा दैनिकी सामान्य अवस्थामा बिताउँदै आएका छन् । गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली फागुन ३० गते डिस्चार्ज भएदेखि नै सक्रिय थिए । तर नोवेल कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अहिले केही उच्च सतर्कता अपनाउन थालेका छन् । डिस्चार्ज पछि पार्टीको सचिवालय बैठक, मन्त्रिपरिषद्को बैठक तथा सार्क राष्ट्रबीच कोरोना भाइरसका सम्बन्धमा गरिएको भिडियो कन्फ्रेन्समा अति सक्रिय प्रधानमन्त्री ओली कोरोना भाइरस तथा मिर्गौला प्रत्यारोपण पछि हुन सक्ने जोखिमलाई कम गर्न सामूहिक भेटघाट तथा कार्यक्रममा उपस्थित हुन छोडेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले केन्द्रबिन्दुसँग कुरा गर्दै भने –‘दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि नै प्रधानमन्त्रीको स्वास्थ्यमा ध्यान दिइएको थियो । तर उहाँले विभिन्न बैठक तथा भिडियो कन्फ्रेन्समा सहभागि हुनु भयो । अहिले देशभर लकडाउन पछि सिमित अत्यावश्यक व्यक्ति र सरकारका पदाधिकारीसँग मात्र भेटघाट गर्नु भएको छ । अन्य काम टेलिफोन सम्पर्कबाटै हुन्छ ।’

२. नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लकडाउनको समयमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरस भिडभाडबाट छिटो फैलिने संम्भावना भएकाले पार्टीका भेटघाट बन्द गरी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । केही समय पहिले प्रचण्डका कान्छा ज्वाई जीवन आचार्यले सेल्फ क्वारेन्टाइनमा बसेको समय पनि शरिरलाई चुस्त राख्न जरुरी छ भन्दै प्रचण्डले साइकिलिङ गरेको फोटो र भिडियो सार्वजनिक गरेका थिए ।

३. नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लकडाउनको समयमा सेल्फ क्वारेन्टाइनमा बसेर पारिवारीक माहोलमा पहिलो दिन बिताएको बताएका छन् । उनले कोरोना भाइरस मानिसको भिडभाडबाट फैलिने उच्च जोखिम भएकाले सम्पूर्ण देशबासीमा घरमै बसेर कोरोनासँग लडन सुझाव दिएका छन् । उनले होम क्वारेन्टाइनमा बेला प्राकृतिक चिकित्साविधि योगा र ध्यान जस्ता तरिका अपनाएको र समय बिताउन सहज भएको उल्लेख गरेका छन् । भेटघाटलाई पूर्ण रुपमा बन्द गरी टेलिफोन सम्वाद मात्र जारी राखेको उनको भनाइ छ ।

४. नेकपा वरिष्ठ नेता झलनाथ खनाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रबिन्दुसँग कुरा गर्दै लकडाउनको समयमा पार्टी कार्यकताहरुसँग टेलिफोनमा कुराकानी गर्ने, पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने र हरारीले लेखेको सेपिन्स नामको किताब पढ्दै गरेको जानकारी दिए । साथै इलामका महान योद्धा ज्ञानीराम भट्टराई र भक्त्तबहादुर देवानको बारेमा आफूले फुर्सद निकालेर लेख्दै गरेको जानकारी दिए । पार्टीको कामले देशभर हिड्ने भएकाले घरमा बस्नुपर्दा केही असहज भए पनि नोवेल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि घरमा सेल्फ क्वारेन्टाइनमा बस्नुको विकल्प नभएको उनको भनाइ छ ।

५. समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराई


संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू सेल्फ क्वारेन्टाइनमा बसेर कोरोना भाइरसको संक्रमण विरुद्ध लागेको उल्लेख गरेका छन् । उनले सरकारले लकडाउन गरेको समयमा आफूले पहिलेदेखि चाहेर पनि पढ्न नपाएका पुस्तकहरु पढेर समयको सदुपयोग गरेको बताएका छन् । आफू अध्ययन र लेखनमा बढी चासो राख्ने स्वभावको भएकाले यस समयमा बढी भन्दा बढी अध्ययन र लेखनमा समय दिएको उनको भनाइ छ । साथै उनले कोरोनासँगै मिलेर लड्न सम्पूर्णलाई घरमा नै बसेर सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

६. साझा पार्टी संयोजक रविन्द्र मिश्र


साझा पार्टीका संयोजक रविन्द्र मिश्रले लकडाउनको समयमा घरमै बसेर दिन बिताइरहेको बताएका छन् । उनले लकडाउनको समयमा घरबाटै गर्न मिल्ने पार्टीका काम पनि गर्दै आएको उल्लेख गरेका छन् । त्यस्तै उनले सामाजिक सञ्जाल ट्वीटरमा आफू, परिवार र समाजलाई जोगाउन कोरोना विरुद्धको लडाइँ घरभित्रबाटै लडौँ भन्दै सार्वजनिक अपिल समेत गरेका छन् ।

७. नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लकडाउनको समयमा घरमै बसेर समय बिताएको केन्द्रबिन्दुसँग कुरा गर्दै जानकारी दिए । उनले यस समयमा पार्टी तथा सरकारका काम टेलिफोन सम्पर्कबाट गर्दै आएको भन्दै टेलिफोन सम्वादमा पनि विशेष गरेर कोभिड –१९ भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धी कुराकानी हुने गरेको बताए । साथै लकडाउनको समयमा अध्ययनलाई विशेष ध्यान दिएको उनको भनाइ छ ।

८. नेकपा महासचिव विष्णु पौडेल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले केन्द्रबिन्दुसँग कुरा गर्दे लकडाउनको समयमा पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने र सूचना लिने दिने काममा समय विताउँदै आएको जानकारी दिए । साथै उनले कोरोना संक्रमणबाट बच्न होम क्वारेन्टाइनमा बसेर उच्च सतर्कता अपनाएको बताए ।

९. नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकास शर्मा


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले कोरोना भाइरसको संक्रमणबाट बच्न होम क्वारेन्टाइनमा बसेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा होम क्वारेन्टाइनमा बसेको समयमा सम्पूर्ण नेपालीमा सचेतनाका साथै मनोरञ्जन प्रदान गर्न आफ्नो शब्द र संगीत रहेको तथा प्रमोद खरेल र शितल मोक्तानको स्वरमा रहेको गीत उपहार स्वरुप उपलब्ध गराएको उल्लेख गरेका छन् ।

१०. राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौला


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सचिवालय सदस्य राजाराम बतौलाले केन्द्रबिन्दुसँग कुरा गर्दै कोभिड–१९ भाइरस संक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा बस्दै आएको जानकारी दिएका छन् । उनले देशैभर लकडाउनको समयमा आफूले सामाजिक सञ्जाल तथा फोन सम्वादमार्फत पार्टीको काम गर्दै आएको बताए । उनले विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउदै सेल्फ क्वारेन्टाइनमा बस्नुको विकल्प नभएको भन्दै विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) र नेपाल सरकारले जारी गरेको निर्देशनलाई पालना गर्न सम्पूर्णमा आव्हानसमेत गरेका छन् । साथै लकडाउनको समयमा नियमको पालना गरी कोरोना भाइरसको संक्रमण रोक्न सहयोग गर्ने , फुर्सदको समयमा बढी भन्दा बढी खोजमुलक किताबहरु पढ्न उनको सुझाव छ ।

Logo