गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’


काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा ‘दीप प्रज्वलन’ गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवस तथा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको सम्झनामा शुक्रबार साँझ माइतीघर मण्डलामा ‘दीप प्रज्वलन’ गरेको हो ।

कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले द्वन्द्वग्रस्त मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “स्व. कोइराला नेपाली काँग्रेसको मात्र नेता नभएर मुलुककै नेता हुनुहुन्थ्यो”, उनले भने ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष कोइरालाले सहमति, सहकार्य र एकताबाट मुलुकलाई अगाडि बढाएको बताउँदै वर्तमान सरकार र राजनीति दलले कोइरालाबाट पाठ सिक्नुपर्ने बताए । मुलुकमा अहिले गिरिजाबाबुजस्ता राजनेताको अभाव खड्किएको उनको भनाइ थियो ।

दीप प्रज्वलन कार्यक्रममा सरकारले तोकेको २५ भन्दा कम व्यक्तिको सहभागिता रहेको थियो । वि.सं १९८१ असार १८ गते भारतको विहारमा जन्मिएका कोइरालाको ०६६ चैत ७ गते काठमाडौँमा निधन भएको थियो ।रासस

Logo