बैदेशिक रोजगारमा जाने कामदारको माग ७५ प्रतिशतले घट्यो

बैदेशिक रोजगारमा जाने कामदारको माग ७५ प्रतिशतले घट्यो


काठमाडौं ।

नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन भएको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न थालेका छन् । खाडी मुलुक कतारलगायतले नेपाललगायत अन्य देशबाट आउने कामदार आउनमा रोक लगाएका छन् ।

यसैगरी, साउदी अरब, मलेसिया, बहराईन, कुवेत, दुबई लगायतका मुलुकले पनि आ–आफना देशमा आउने कामदार रोक्ने तयारी गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल नेपालमा आउने कामदारको मागपत्रमा ७५ प्रतिशत कम भएको बताउँछन् । मागपत्र आउन धेरै मात्रामा कमी आएसँगै कामदार छनौट प्रक्रियाका लागि लिईने अन्तर्वार्ता रोकिएको समेत उनले बताए ।

रोजगारदाता मुलुकमा कोरोनाको संक्रमणको कारण रोजगारदाता नै अन्योलमा रहेको उनको भनाइ छ । यसको असर लामो समय लम्बिदै गए दीर्घकालीन रुपमा देशलाई नै ठूलो आर्थिक संकट उत्पन्न गराउन सक्ने उनी बताउँछन् । रोजगारदाता मुलुकले कामदार तत्कालका लागि रोक्ने निर्णयले मेनपावर व्यवसायीलाई समेत असर गरेको उनले बताए ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ विदेशमा जाने कामदार रोकिए देशमा आर्थिक रुपमा ठूलो असर पर्ने बताउँछन् । सरकारले सधैं भरी वैदेशिक रोजगारीको भरमा मात्रै परे देश कुनै दिन ठूलो संकटमा फस्न सक्ने उनले स्पष्ट पारे । स्वदेशमा रोजगारी नपाउने र विदेशमा पनि काम गर्न जाने अवस्था नभए सामाजिक विचलनदेखि चोरी डकैती र अपराधका घटना बढ्ने खतरा रहेको डा. गुरुङको भनाइ छ ।

कोरोनाको कारण नेपालमा सबैभन्दा बढी आर्थिक रुपमा कमजोर भएका विपन्न परिवारलाई पर्ने सक्ने खतरा उनले औंल्याए । अहिलेको अवस्थामा वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रेमिट्यान्सले परिवारसँगै देशको अर्थतन्त्र चलेको अवस्थामा मुख्य स्रोत रेमिट्यान्स भित्रनमा कमी आउने वित्तिकै धेरै क्षेत्रमा असर पर्ने उनले बताए ।गोरखापत्रबाट

Logo