‘नेपाल कोरोना भाइरसको प्रभावबाट मुक्त छ’ : पर्यटनमन्त्री

‘नेपाल कोरोना भाइरसको प्रभावबाट मुक्त छ’ : पर्यटनमन्त्री


काठमाडौं ।

माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा मंगलबार एक छलफल कार्यक्रम आयोजना भएको छ ।

मित्रराष्ट्र चीनमा देखिएको कोरोना भाइरसको प्रभावबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन एवम् नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न छलफल कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा पर्यटन प्रर्बद्धनका लागि अबलम्बन गर्नुपर्ने वैकल्पिक रणनीति सम्बन्धमा सम्वद्ध निकायहरुसँगको छलफल समेतको आधारमा पर्यटनमन्त्रीले तत्काल कार्यहरु गराउन निर्देशन दिएका छन् ।

नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक श्रव्यदृश्य प्रचार सामाग्रीहरु अंग्रेजी, चिनीयाँ र हिन्दी भाषामा तीन दिनभित्र तयार पारिने कार्यक्रममा जानकारी दिइयो । यस्तै भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक समाचार सम्प्रेषित गर्ने व्यवस्था गराउने, यस्ता सामाग्रीहरुलाई मन्त्रालय विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन सम्वद्ध निजी क्षेत्रका वेबसाइड तथा सामाजिक सञ्जालहरुमा समेत राख्ने व्यवस्था मिलाइने पनि मन्त्री भट्टराईले जानकारी दिए ।

छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता रहेको कुरा बताउँदै भट्टराईले नेपाल सरकारले अहिलेको संकटलाई चीनले शिघ्र समाधान गरे पश्चात चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमूलक श्रव्यदृश्य सामाग्री चिनियाँ भाषामा तयार गरि सात दिन भित्र चिनियाँ सञ्चार माध्यमहरु तथा चीनमा रहेका नेपाली नियोग मार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताए ।

नेपालले पर्यटन क्षेत्रमा देखाएको नयाँ परिस्थितीमा बजार प्रवद्र्धनका वैकल्पिक उपायहरु अवलम्बन गर्नका लागी नेपाल पर्यटन बोर्डमा नेपालको पर्यटन स्रोत बजारलाई लक्षित गरी क्षेत्रगत रुपमा विभिन्न १२ वटा प्रमोसन डेस्कहरु तत्काल खडा गरी डेस्कमा बोर्ड सचिवालयका एक एक जना प्रतिनिधिहरु क्रियाशिल गराउने पनि पर्यटनमन्त्रीले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबाट पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा दोहोरोपना गराउने व्यवस्था मिलाउनुका साथै प्रमुख पर्यटन बजारबाट प्रसिद्ध सेलिबे्रटिहरु, खेलाडी, सञ्चारकर्मीको नेपाल भ्रमण गराई पर्यटन प्रवद्र्धनको कार्यलाई प्राथमिकता दिनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान भर्न इच्छुक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई प्रोत्साहन गर्ने र नेपाल वायुसेवा निगमले नेपालका पर्यटन स्रोत बजारलाई लक्षित गरी उडानको आवश्यक प्रक्रिया तयार पार्ने पनि कार्यक्रममा जानकारी दिइयो ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य तथा मन्त्रालय एवम् सम्वद्ध निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Logo