“सही समयमा अवतरण नगरेको भए माओवादी समाप्त हुन्थ्यो”- प्रचण्ड (भिडियोसहित)

“सही समयमा अवतरण नगरेको भए माओवादी समाप्त हुन्थ्यो”- प्रचण्ड (भिडियोसहित)


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी सहि समयमा शान्ति प्रक्रियामा आएको बताएका छन् । जनयुद्ध दिवस सुरु भएको दिनको स्मरणमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले सही समयमा शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुने टिप्पणी गरेका हुन् ।

अहिले कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको भन्दै प्रचण्डले भने, “अहिले गर्न लागेको नक्कल सफल हुँदैन, त्यतिबेला माओवादी आन्दोलनको अवतरण सही समयमा नगराइएको भए समाप्त हुने थियो ।”

जनवादी क्रान्ति मौलिकतामा सम्पन्न भएको र समाजवादतर्फ पनि मौलिकतामै अघि बढ्ने प्रष्ट पार्दै प्रचण्डले भने, ‘शान्तिपूर्ण, प्रतिश्पर्धात्मक, लोकप्रिय मत ल्याएर शासन सत्तालाई सुशासनमा बदलेर सामाजिक न्याय, विकास निर्माण, समतामुलक समाज निर्माण गर्न मेहनत गरेर समाजवाद बनाउने बाटोतर्फ छौँ ।’ कम्युनिस्टहरु विरोधी पक्षबाट नभई आफ्नै कारणले कमजोर हुने गरेको उनको भनाइ थियो ।

उनले माओवादी र एमाले जनयुद्धदेखि नै निकट रहेको पनि बताए । उनले तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयुद्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको जिकिर गरे ।

प्रचण्डले नेपाली कम्युनिस्टहरु तत्कालीन सोभियत युनियनको कम्युनिस्टजस्तो नभइयोस् भन्ने कामना गरेका छन् । प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको टिप्पणी गरे ।

उनले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाइदिन आफूहरुलाई आग्रह गर्ने गरेको पनि खुलासा गरे ।

कार्यक्रममा नेकपाका उपाध्यक्ष बामदेव गौतमले माओवादी जनयुद्धमा तत्कालीन एमालेका तीन सय जना मारिएको बताउंदै उनीहरूका परिवारको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । हेरौं भिडियोमा :

Logo